प्रवक्ता श्रेष्ठ भन्छन्, ‘ओलीको कदम स्वागतयोग्य’

मंसिर ४, काठमाडौं ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष प्रचण्डको काउन्टरमा अर्को प्रस्ताव ल्याउन लागेकोमा नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले त्यसलाई ‘स्वागतयोग्य कदम’ भनेका छन् ।

‘यो एकदमै सही कदम हो । कमरेड प्रचण्डले प्रस्ताव ल्याउनुभो, त्यो प्रस्ताव ल्याइसकेपछि त्यसमाथि छलफल गर्नै हुन्न भन्ने विभिन्न कोणबाट कुराहरु पनि उठेको देखियो । तर, आज अध्यक्ष कमरेड केपी शर्मा ओलीले नै म अर्को प्रस्ताव ल्याउँछु भनेर भनिसकेपछि त्यो अत्यन्तै सकारात्मक कदम हो,’ प्रवक्ता श्रेष्ठले सञ्चारमाध्यमसँग कुरा गर्दै भने, ‘त्यसलाई हामीले स्वागत गर्नुपर्छ ।’

यसरी दस्तावेजहरुसहित छलफल गर्दा पार्टी एकताको रक्षा हुने र पार्टी एकतालाई सुदृढ गर्न सकिने प्रवक्ता श्रेष्ठको दाबी छ ।

बुधबारको सचिवालय बैठकपछि पत्रकारसँग कुरा गर्दै उनले भने, ‘अध्यक्ष कमरेड केपी शर्मा ओलीले आफूले पनि केही प्रस्ताव तयार पार्छु भनेपछि केही समय दिनुपर्ने उहाँले प्रस्ताव गर्नुभयो । उहाँले दस्तावेज तयार गर्न केही समय लिनुहुन्छ भने त्यो कुरा सही नै हुन्छ ।’