मंसिर ४, काठमाडौं ।
वीर अस्पतालका स्वास्थ्यकर्मीहरुको आन्दोलनप्रति स्वास्थ्य क्षेत्रमा आवद्ध विभिन्न १६ वटा पेशागत संघ–संस्थाहरुले ऐक्यवद्धता जनाएका छन् ।
नेपाल स्वास्थ्यकर्मी संघ, राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपाल स्वास्थ्यकर्मी युनियन, अखिल नेपाल प्रगतिशिल स्वास्थ्यकर्मी संगठन, नेपाल राष्ट्रिय स्वास्थ्यकर्मी संगठन, मधेसी स्वास्थ्यकर्मी फोरम नेपाल, नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज लगायतका १६ वटा संघसंस्थाहरुले बुधबार संयुक्त प्रेश विज्ञप्ति जारी गर्दै आन्दोलनरत स्वास्थ्यकर्मीहरुको जायज माग पुरा गर्न सरोकारवालासँग आग्रह गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘वीर अस्पताल र देशका विभिन्न स्वास्थ्य संस्थाहरुका साथै स्थानीय तहहरुमा आन्दोलनरत पक्ष एवं स्वास्थ्यकर्मीहरुसँग विनाशर्त वार्ता गरी आन्दोलनको क्रममा उठाइएका जायज मागहरु पुरा गर्न हामी सम्बन्धित व्यवस्थापक, सरकार तथा सरोकावाला पक्षहरुसँग अनुरोध गर्दै उक्त आन्दोलनप्रति ऐक्यवद्धता समेत व्यक्त गर्दछौं ।’
यसैबीच वीर अस्पतालमा आन्दोलनरत स्वास्थ्यकर्मीहरुले बिहीबारदेखि न्याम्स पदाधिकारीहरुलाई अस्पताल प्रवेशमा अवरोध गर्ने भएका छन् ।
आफूहरुको माग सम्बोधन नभएका कारण पदाधिकारीको कार्यकक्षमै तालाबन्दी गर्ने नेपाल स्वास्थ्यकर्मी संघ वीर अस्पतालका अध्यक्ष खुवराज आचार्यले चेतावनी दिए ।







