मंसिर ४, काठमाडौं ।
बेलायतको माथिल्लो सदन, हाउस अफ लर्ड्सका सदस्य नजिर अहमदले राजिनामा दिएका छन् । उनले ‘लर्ड्स कन्डक्ट कमिटि’को रिपोर्ट पछि राजिनामा दिएका हुन् ।
पाकिस्तानी मूलका लर्ड अहमदमाथि सन् २०१७ मा मदत माग्दै आएकी एक महिलाको भावनात्मक र यौन शोषण गरेको आरोप लागेको थियो । जसमाथि अनुसन्धान भएपछि उक्त आरोप पुष्टि भएको छ ।
अनुसन्धान प्रतिवेदनमा उनलाई पदबाट हटाउन सुझाव दिइएको थियो । सन् २०१९ मा बिबिसी न्युजनाइटको एक कार्यक्रमपछि यसको अनुसन्धान सुरु भएको थियो ।
तर लर्ड नजिरले उक्त आरोप स्वीकार गरेका छैनन् र यसलाई झुटो बताएका छन् । आरोप लगाएकी महिलाले भने उक्त अनुसन्धान रिपोर्टको स्वागत गरेकी छन् ।
अनुसन्धान प्रतिवेदनमा उक्त महिलाको डिप्रेशनको उपचार भइरहेको जान्दाजान्दै लर्ड नजिरले उनको शोषण गरेको उल्लेख छ । रिपोर्टमा मानसिक अवस्था गम्भीर भएको महिलासँग यस्तो सम्बन्ध राख्नु शोषण भएको बताइएको छ । (एजेन्सी)







