मंसिर ४, काठमाडौं ।
संयुक्त राज्य अमेरिकामा फेरि एक पटक देशैभरी गम्भीर रूपमा फैलिइरहेको कोभिड–१९ का कारण हालसम्म दुई लाख पचास हजार जनाभन्दा बढीको ज्यान गएको छ ।
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार त्यहाँ हालसम्म एक करोड १५ लाखभन्दा बढीमा कोरोनाभाइरस सङ्क्रमण देखिएको छ । भाइरसका कारण अमेरिकामा भएको मृत्यु र सङ्क्रमण विश्वका अन्य कुनै देशहरूमा भएको भन्दा बढी हो ।
अहिले त्यहाँ पुनः एक पटक देशैभरि सङ्क्रमण बढ्दो छ र हरेक दिन दैनिक वृद्धमा नयाँ कीर्तिमान कायम भइरहेको छ । बुधवार देशका प्रमुख सङ्क्रामक रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले देश ‘एकदमै महत्त्वपूर्ण समयमा गलत दिशामा गइरहेको’ बताएका छन् । उनको विचारमा जाडो बढ्दै गर्दा मानिसहरू घरभित्र बढी सीमित हुनेछन् ।
गत वसन्त ऋतुमा अमेरिकामा कोरोनाभाइरसको केन्द्र रहेको न्यूयोर्क शहरले सङ्क्रमण बढ्ने अनुमानका साथ बिहीवारदेखि विद्यालयहरू बन्द गर्ने आदेश दिएको छ ।
अधिकारीहरूका अनुसार भाइरस सङ्क्रमण दर जाँचको तीन प्रतिशतभन्दा बढी भएपछि अमेरिकाको सबैभन्दा ठूलो सार्वजनिक विद्यालय प्रणाली बन्द गर्ने निर्णय गरिएको हो । यसले तीन लाख बालबालिकालाई असर पर्नेछ । त्यहाँ रेस्टुराँ र जिमखाना भने खुला रहेनछन् ।
संवाददाताहरूले कक्षाकोठाहरूमा भएको सङ्क्रमण निकै कम देखिएकाले अहिलेको सङ्क्रमण वृद्धि विद्यालयका कारण चाहिँ नभएको बताएका छन् ।
यसैबीच डा. फाउचीले नयाँ सङ्क्रमण बढेसँगै मृतकको सङ्ख्या थपिन सक्ने चेतावनी दिएका छन् । उनले अहिले आफूहरू एकदमै गम्भीर स्थितिमा रहेको बताए । (बिबिसी)







