यातायात क्षेत्रको निगरानी गर्न ‘ओटिएमएस’को सुरुआत

मंसिर ५, काठमाडौं ।
सार्वजनिक यातायात क्षेत्रको निगरानी गर्न अनलाइन टिकेटिङ मोनिटरिङ सिस्टम (ओटिएमएस)को सुरुआत भएको छ । बिहीबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङ्गले उक्त प्रणालीको उद्घाटन गरेका हुन् ।

सिंहदरबारमा आयोजित एक कार्यक्रमबीच नेम्वाङले अनलाइन एप्लिकेशनको लगइन बटन थिचेर उद्घाटन गरेका थिए । सार्वजनिक यातायात क्षेत्रलाई अनलाइन एप्लिकेशनको माध्यमबाट अनुगमन गर्ने प्रणालीको सुरुआतले बदलिँदो परिस्थितिमा यातायात क्षेत्रलाई व्यवस्थित गर्न ठूलो सहयोग पुग्ने नेम्वाङको भनाइ छ ।

‘सार्वजनिक यातायात क्षेत्रलाई नविनतम रुप दिँदै यसलाई आधुनिक प्रविधिमैत्री बनाएर, आधुनिक प्रविधिसंग आबद्ध गराउँदै लानु पर्छ,’ उनले भने, ‘यातायात क्षेत्रलाई पारदर्शी, सुरक्षित तथा वातावरणमैत्री बनाउनु आवश्यक रहेको छ । यसका लागि नीतिगत व्यवस्थापन सुरु गरिएको छ ।’

यातायात क्षेत्रका धेरै अधिकारहरु प्रदेश अन्तर्गत गएको र त्यस अनुसारका कानून तथा नीति निर्माणको क्रममा रहेको उनले जानकारी दिए । संघले बनाउनुपर्ने कानूनहरू बनिरहेको उनले बताए ।

सार्वजनिक यातायातलाई एकिकृत, पारदर्शी, प्रविधिमैत्री, सुरक्षित भरपर्दो बनाएर लानका निम्ति यातायात प्राधिकरणको परिकल्पना गरिएको उल्लेख गर्दै भने, ‘सार्वजनिक यातायात प्राधिकरण बनाउनका निम्ति संसदमा विधेयक पेश गरिएको छ । हाल राष्ट्रियसभाबाट पारित भइ प्रतिनिधिसभामा प्रस्तुत भएको छ ।’

उनले अनलाइन मोनिटरिङ सिस्टमको कार्यान्वयनले यातायात व्यवसायी, कर्मचारी र यात्रु सबैलाई फाइदा हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले हाल डिजिटल प्रविधिको प्रयोगबाट यातायात क्षेत्रलाई चुस्त बनाउन खोजिएको बताएका थिए । उनले यस्तो प्रविधिहरुलाई निरन्तर परिमार्जन गर्दै लानु पर्नेमा समेत जोड दिए । यातायात व्यवस्था विभागले तयार पारेको एप्लिकेशनको बारेमा डेभलोपर मोहन बेल्बासेले प्रस्तुती गरेको नेम्वाङको सचिवालयले जनाएको छ ।