मंसिर ५, काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुन पासाङले छठको अवसरमा शुभकामना मन्तव्य जारी गरेका छन् ।
राष्ट्रपति भण्डारीले छठ पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत विभेद अन्त्य गरी समतामूलक, प्रगतिशील, सभ्य र समुन्नत समाज निर्माण गर्नेतर्फ अग्रसर हुन प्रेरणा दिने विश्वास व्यक्त गरेकी छन् ।
छठका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै उनले विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ को बढ्दो संक्रमणबाट जोगिन पूर्वसावधानीका उपायको पालना गर्दै मनाउन सबैमा आह्वानसमेत गरेकी छन् ।
उपराष्ट्रपति नन्दबहादुर पुन पासाङले पनि छठ पर्वको अवसरमा सबै नेपालीमा शुभकामना व्यक्त गरेका छन् ।
पारिवारिक कल्याण, सन्तान सुख तथा मनोकामना पूरा हुने विश्वासका साथ सूर्य उपासना गरेर मनाइने छठ पर्वले नेपालीहरुकाबीच आपसी सदभाव, सहिष्णुता, भाइचारा र एकता अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ गर्ने उपराष्ट्रपति पुनले विश्वास व्यक्त गरेका छन् ।
पुनले कोरोना भाइरसले उत्पन्न प्रतिकुल परिस्थितिमा आइपुगेको छठ पर्व मनाउँदा स्वास्थ्य सुरक्षाको नियम पूर्ण पालना गर्न सबैलाई अपील गरेका छन् ।
यसैगरी यो पवित्र पर्वले कोरोना भाइरससँग जुध्न र ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पुरा गर्नका लागि राष्ट्रिय एकता प्रदर्शन गर्न सबै नेपालीलाई प्रेरणा देओस् भन्ने कामनासमेत गरेका छन् ।







