उत्तरप्रदेशमा जन्ति गएको जिप दुर्घटना हुँदा ६ बालबालिकासहित १४ को ज्यान गयो

मंसिर ५, काठमाडौं ।
भारत उत्तरप्रदेशको प्रतापगढ जिल्लामा भएको सवारी दुर्घटनामा ६ बालबालिकासहित १४ जनाको मृत्यु भएको छ ।

विवाह समारोहमा सहभागी भएर आफ्नो गाउँ फर्किन लागेकाहरू सवार बोलेरो जिप प्रयागराज–लखनउ राजमार्गमा रोकिराखेको एक ट्रकमा पछाडिबाट ठोक्किएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

दुर्घटना बिहीबार राति भएको हो । चालक निदाएर दुर्घटना भएको अनुमान गरिएको छ । दुर्घटनामा चालकको समेत मृत्यु भएको बताइएको छ ।

दुर्घटना निकै भयानक रहेको सञ्चारमाध्यममा प्रसारित तस्वीरबाट देखिएको छ । जिपलाई काटेर शवहरु बाहिर निकाल्नु परेको स्थानीय प्रहरीलाई उद्धृत गर्दै भारतीय टेलिभिजनले उल्लेख गरेका छन् ।

प्रहरीका अनुसार मृतकहरुमध्ये १२ जना कुँडा कोतवालीको चौंसा जिरगापुर गाउँका हुन् ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेहरुको उद्धार तथा उपचारमा हरसम्भव मद्दत गर्न अधिकारीहरुलाई निर्देशन दिएका छन् ।