मंसिर ७, काठमाडौं ।
शनिबार चितवनमा आफ्नो कार्यक्रममा गरिएको नाराबाजीलाई नेकपा नेता सुरेन्द्र पाण्डेले गैर राजनीतिक भनेका छन् । उनले आफ्नै दलका कार्यकर्ताले गुटबन्दीका कारण कार्यक्रममा नाराबाजी गरेको बताए ।
‘यो अत्यन्तै गैरराजनीतिक व्यवहार हो । यस्तो गैरराजनीतिक व्यवहार गर्नेहरुलाई अनुशासनको कारवाही गर्नुपर्छ । यस्ता मान्छेलाई बोकेर ‘पुस’ गर्ने जुन प्रवृत्ति छ, त्यो पनि गलत कुरा छ, उनले भने, ‘यस्तो प्रवृत्तिलाई प्रोत्साहन गर्नु गलत हो । पार्टीको बैठकमा ती नगर कमिटीका सरोकारवाला पनि होइनन् ।’
चितवनमा पाण्डेको निर्वाचन क्षेत्रअन्तरगत पर्ने राप्ती नगरपालिकामा शनिबार पार्टीको नगर कमिटी बैठक आयोजना गरिएको थियो । त्यहाँ अतिथिका रुपमा निम्त्याइएका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीकी जनसम्पर्क सल्लाहकार सीता पौडेलकी भाइबुहारी प्रभा बराल राप्ती नगरपालिकाकी मेयर छिन् । उनी बैठकमा आउँदा ८–१० जना केटाहरु पनि उनीसँगै आएको पाण्डेको भनाइ छ ।
कार्यक्रम सुरु भएसँगै उनीहरूको व्यवहार शंकास्पद रहेको उनले बताए । आफूले पार्टिको कार्यदलले गरेको कामबारे चर्चा गर्दैगर्दा मदन भण्डारी फाउन्डेसनको बारेमा पनि बोलेको पाण्डेको भनाइ छ ।
‘म यिनै कुराहरु भन्दै थिएँ, उनीहरु नारा लगाउन थाले । उनीहरुले मदन भण्डारी फाउन्डेसन जिन्दावाद, जबज जिन्दावाद, केपी ओली जिन्दावाद जस्ता नाराहरु लगाए,’ पाण्डेले भने ।
नाराबाजी भएपछि मेयर पनि आत्तिएको र भाषण सकिएपछि तत्कालै कार्यक्रम समापन गरेर आफूहरू हिँडेको उनको भनाइ छ । ‘यसरी नारा लगाउने अगुवामा चितवन जिल्ला कमिटीका पूर्वअध्यक्ष जगन्नाथ थपलियाका छोरा सुरज थपलिया थिए । सुरजका बुबा जगन्नाथजी अहिले वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलका सल्लाहकार हुनुहुन्छ,’ पाण्डेले भने ।
सुरजका ससुरा दाबा लामा पनि वागमती प्रदेशकै भूमि व्यवस्था सहकारी तथा कृषिमन्त्री छन् । मन्त्री दावाकै पीए प्रकाश कालाखेती पनि नारा लगाउने समूहमा रहेको पाण्डेको दाबी छ । दाबाका छोरा पनि त्यहाँ संलग्न रहेको आफूले जानकारी पाएको उनले बताए ।
उनले भने, ‘त्यस्तै, केदार आचार्यलाई पनि मैले चिनेँ । अरु एक–दुई जनाको नाम बिर्सिएँ, अरु तीनरचारजना मैले नचिनेका भर्खरका केटाहरु थिए । नेताकै आफन्तहरुलाई त झन् नेताहरुले सम्झाउनुपर्यो नि । केपी कमरेडलाई भेट्दाखेरि बा भनेर हातमा ढोग्नेहरु हुन् उनीहरु ।’







