मंसिर ७, टिकापुर ।
विद्यालय पढ्ने उमेरका कतिपय विद्यार्थीले नै कुलतमा परी लागुऔषध सेवन गर्ने गरेका छन् । लकडाउनपछि लामो समयदेखि विद्यालय बन्द रहँदा विद्यार्थी यस्ता कुलतमा फस्ने जोखिम झन् बढेको छ ।
कैलालीको जनता राष्ट्रिय मावि सोनाहफाँटाका शिक्षक कृष्ण चौधरीले लागुऔषधको कुलतमा लागेकै कारण कतिपय विद्यार्थीले बीचमै पढाइ छाड्ने गरेको बताउँछन् । ‘हाम्रो आसपासका विद्यालयमा हरेक वर्ष आठ÷दश बालबालिका लागुऔषधमा फसेकै कारण विद्यालय छोड्छन्,’ शिक्षक चौधरीले भने, ‘विद्यालय बन्द भएको आठ महिना भयो । विद्यार्थी फुर्सदिला भएका छन् । अझ गलत सङ्गतमा फस्ने जोखिम बढेको छ ।’
नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको तथ्याङ्कअनुसार पोहोर अर्थात् २०७६ सालमा १९ वर्षमुनिका लागुऔषध सेवनकर्ता २१ प्रतिशत छन् । विसं २०७६ मा सबै उमेरका नेपालभर एक लाख ३० हजार ४२४ लागुऔषध प्रयोगकर्ता रहेका छन् । तीमध्ये पुरुषको सङ्ख्या एक लाख २२ हजार छ भने महिला झण्डै नौ हजार छन् ।
लागुऔषधका रूपमा गाँजा, अफिम, सुँघ्ने र उत्तेजना दिने पदार्थको प्रयोग हुने प्रहरीले जनाएको छ । सबैभन्दा बढी गाँजा र त्यसले बनेका लागू पदार्थको प्रयोग भइरहेको छ । साथीको दबाब, मनोरञ्जन, तनावजस्ता कारणले पनि लागुऔषध प्रयोगकर्ता बढेका लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वर काठमाडाँैका प्रहरी उपरीक्षक कृष्णकुमार महतको भनाइ छ ।
‘बालबालिका गलत सङ्गतका कारण बढी कुलतमा फसेको देखिन्छ,’ उनले भने, ‘बालबालिकालाई जोगाउने बढी दायित्व अभिभावककै हुन्छ । किशोरावस्थाका नानीबाबुको आनीबानीको निगरानी आवश्यक छ ।’
शिक्षा विकास तथा समन्वय एकाइ कैलालीको तथ्याङ्कमा विसं २०७४÷७५ मा विद्यालय छोड्ने विद्यार्थी चार प्रतिशत छन् । यद्यपि लागुऔषधकै कारण पढाइ प्रभावित हुने विद्यार्थीको सङ्ख्या कति छ भन्ने तथ्याङ्क एकाइसँग छैन ।
बालबालिका तथा किशोरकिशोरीलाई कुलतबाट जोगाउन कैलालीको टीकापुर नगरपालिकाले वडामा चेतनामूलक कार्यक्रम र विद्यार्थीलाई प्रशिक्षण दिइरहेको वडा नं ७ का वडाध्यक्ष रामलाल डगौरा थारूले बताए ।
‘हामीले प्रहरीसँगको साझेदारीमा विद्यालय र बस्तीस्तरमा लागुऔषधका असरबारे जानकारी दिने गरिरहेका छौँ,’ उनी भन्छन्, ‘कुलत सेवनको असर समाजमा हुने आपराधिक गतिविधिसँग समेत जोडिने भएकाले यसलाई रोक्न जिम्मेवार भएर लागेका छौँ तर लकडाउनपछि गाउँमै गएर कार्यक्रम गर्न सकिएको छैन ।’
टीकापुर बहुमुखी क्याम्पसका मनोविज्ञान विषयका उपप्राध्यापक नाथुराम चौधरी लागुऔषध प्रयोग घटाउन सीमा नाकामा जाँच बढाउने, लागुऔषधको प्रयोगबाट हुने हानी नोक्सानीबारे चेतना फैलाउने, कानूनको कडा कार्यान्वयन गर्नुपर्ने आवश्यकता रहेको बताउँछन् । ‘बालबालिकालाई माया देखाएर सही बाटोमा हिँडाउन अभिभावकले समय दिनुपर्छ,’ चौधरीले भने, ‘बालबालिकाले अभिभावकको साथ नपाएर पनि बिग्रिएका भेटिन्छन्, सन्तानलाई सही बाटो देखाउन चुक्न हुँदैन, एउटा बच्चा बिग्रिए समाज बिग्रन्छ ।’
कुलतले बालबालिकालाई शारीरिक, मानसिकरूपमा मात्र कमजोर नबनाएर पारिवारिक कलह पनि बढाउने गर्छ । यसरी गलत सङ्गत वा गलत बाटोमा लागेका बालबालिकालाई ‘रिह्याब सेन्टर’ अर्थात् पुनःस्थापना केन्द्रमा राख्न सकिन्छ ।
कैलालीको टीकापुरमा मात्र चारवटा पुनःस्थापना केन्द्र छन् । यसले पनि समाजमा लागुऔषध प्रयोग बढ्दो छ भन्ने देखाउँछ । टीकापुरका पुनःस्थापना केन्द्रमा विद्यालयमा पढ्ने उमेरका विद्यार्थी पनि छन् ।
टीकापुरका एक अभिभावकले समय दिन नपाउँदा आफ्नो छोरा कुलतमा फसेको बताए । ‘म दिनभरि ज्यालादारी काम गर्थेँ । १६ वर्षमै कुलतमा फस्यो, रातिराति घर आउँथ्यो, मैले सुधार्न सकिनँ,’ उनले भने, ‘पछि चार महिना सुधार केन्द्रमा राखेँ, अहिले छोरा सुध्रिएको छ । मैले ज्यालादारी छाडेर आमाछोरा मिलेर नास्ता पसल खोलेका छौँ । छोराछोरी आमाबाबुको समय खोज्दा रहेछन् ।’ (रासस)







