मंसिर ७, दाङ ।
जिल्लाका दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही र तुलसीपुरका दुई पुरुष छन् ।
घोराही उपमहानगरपालिका–९, बनगाउँका ६७ वर्षीय पुरुष र तुलसीपुर उपमहानगरपालिका–९, बेलुवाका ६८ वर्षीय पुरुषको मृत्यु भएको हो । उनीहरु दुवै जनाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।
घोराहीका पुरुषमा कात्तिक २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । २७ गते अस्पताल भर्ना भएका उनको शनिबार राति ११ः५० बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । उनमा उच्च रक्तचाप र निमोनियाको समस्या थियो ।
यस्तै तुलसीपुरका पुरुष मंसिर ४ गते अस्पताल भर्ना भएका थिए । ५ गते कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । उनको आइतबार बिहान १ः४० बजे मृत्यु भएको श्रेष्ठले बताए । उनमा मधुमेह र निमोनियाको समस्या थियो ।







