मंसिर ८, काठमाडौं ।
प्रतिनिधिसभाको उपसभामुख पद २०७६ माघ १२ गतेदेखि खाली छ । गत माघ १२ मा नै सभामुखमा सत्तारुढ दलबाट अग्निप्रसाद सापकोटा निर्वाचित भएका थिए ।
सभामुखको निर्वाचन लगत्तै उपसभामुख चयनको प्रक्रियाबारे छिट्टै टुंगो लाग्ने विश्वास गरिए पनि अहिलेसम्म उपसभामुख चयनको विषयमा दलहरु मौन दखिएका छन् ।
यसले गर्दा संवैधानिक परिषद्ले पनि पूर्णता पाउन सकेको छैन । संविधानको व्यवस्थाअनुसार फरक राजनीतिक दललाई उपसभामुख दिनुपर्ने भएपछि नेकपाले संविधानविपरीत उपसभामुख निर्वाचन नगराएको हो ।
संसद् सञ्चालनका लागि सभामुखले १० जना अध्यक्षता गर्ने व्यक्ति चयन गरिसकेका छन् । जसबाट उपसभामुखबिना संसद सञ्चालनमा वाधा नपर्ने देखिन्छ ।
संवैधानिक परिषद् पनि अपूर्ण
उपसभामुख नहुँदा संवैधानिक परिषद समेत अपूर्ण छ । उपसभामुख संवैधानिक परिषद्को सदस्य हुने भएका कारण त्यहाँ पनि पूर्णता हुँदैन । परिषद् अपूर्ण हुँदा सत्तापक्षले गर्ने निर्णय प्रक्रिया अवरुद्ध हुँदै आएको छ ।
संघीय संसद्को अवधि सकिन अब दुई वर्ष बाँकी छ । संसदमा नेकपाको समर्थनबिना उपसभामुख निर्वाचित हुन सक्दैन । तर, संविधानले सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने र सभामुख र उपसभामुखमध्ये एकजना महिला हुनुपर्ने व्यवस्था छ ।
नेकपाबाट सभामुख अग्निप्रसाद सापकोटा निर्वाचित भएकाले अब उपसभामुखमा नेकपाबाहेकको दलबाट ल्याउनुपर्ने हुन्छ ।
संसदमा राष्ट्रिय पार्टीको मान्यता प्राप्त नेकपा, कांग्रेस र जसपा गरी तीन दलमात्र रहेका छन् । स्वतन्त्र हैसियतमा नेमकिपा, राजमो, राप्रपा दल रहेको छ ।
स्वतन्त्रबाट उपसभामुख बनाइएमा कानुनी प्रश्न उठ्ने हुँदा कांग्रेस र जसपाबाट मात्र उपसभामुख बनाउनुपर्ने हुन्छ ।
‘उपसभामुख पद खाली भएको सुरुवाती समयमा भने छिट्टै उपसभामुख निर्वाचन गर्ने गरि गृहकार्य अघि बढाइएको थियो । तर, कुनै दलको यस विषयमा सहमति बन्न सकेको छैन अहिले त्यो विषयमा केही छलफल गर्ने तयारी पनि छैन,’ नेकपाका एक नेताले भने ।
सहमतिबिना नेकपाले उपसभामुखमा कुनै निर्णय नगर्ने नीति लिँदा उपसभामुखको नयाँ उपसभामुख आउने सम्भावना छैन । तत्कालीन राजपासँग नेकपाले प्रदेश २ को राष्ट्रियसभाको सदस्य निर्वाचनमा २०७६ पुस २ गते दुई बुँदे सहमति गर्दै चुनावी तालमेल गरेको थियो ।
तर पहिलो बुँदाको सहमतिबमोजिम चुनावी तालमेल भएको थियो भने दोस्रो बुँदा कार्यान्वयन हुन नपाउँदै अध्यादेश ल्याएर पार्टी फुटाउने खेल सुरु भएको कारण रातारात राजपा र समाजवादी पार्टी एक भएका थिए ।
पहिलो बुँदा चुनावी तालमेल गर्ने कुरा थियो भने दोस्रो बुँदामा नेकपा र राजपाबीच राष्ट्रिय राजनीतिका समसामयिक विषयमा नियमित छलफल गर्ने र सहकार्य अघि बढाउने उल्लेख थियो । राजपा एकीकरण नहुँदै दोस्रो बुँदाको सहमतिलाई लिएर उपसभामुख राजपाले पाउने अनुमान गरिएको थियो ।
प्रमुख प्रतिपक्षी कांग्रेसले पनि कमण्डलु लिएर उपसभामुख नमाग्ने बताउँदै आएको थियो । मुलुकमा लामो समय लकडाउन भएपछि त उपसभामुखको विषय झन् सेलाएको छ ।
सभामुख भन्छन्– ‘दलहरुको निर्णय कुर्दै छु’
सभामुख अग्निप्रसाद सापकोटा सापकोटाले दलहरुले उम्मेदवार टुङ्गो लगाएपछि मात्रै उपसभामुख चयन प्रक्रिया सुरु हुने बताउँछन् ।
‘दलहरुको निर्णय कुर्दै छु । दलहरुले उम्मेदवार टुङ्गो लगाएपछि मात्रै उपसभामुख चयन प्रक्रिया सुरु हुन्छ । यसमा दलहरुको निर्णय बिना सभामुख एक्लै अगाडि बढ्न सक्ने कुरा भएन,’ सभामुख सापकोटाले भने ।







