सुरक्षा प्रमुखहरुसँग प्रधानमन्त्री र गृहमन्त्रीले गरे छलफल

मंसिर ८, काठमाडौ. ।
प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा बादलले सुरक्षा निकायका प्रमुखहरुसँग छुट्टाछुट्टै भेटघाट तथा छलफल गरेका छन् ।

ओलीले चार वटै सुरक्षा निकाय प्रमुखलाई बालुवाटार बोलाएर छलफल गरेका हुन् । आइतबार दिउँसो ओलीले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलाई बोलाएर छलफल गरेका थिए ।

सुरक्षा निकायका प्रमुखसँग के–के विषयमा कुराकानी भयो भन्ने विषय सार्वजनिक गरिएको छैन । प्रधानमन्त्रीको सचिवालयले भने यसलाई नियमित प्रक्रिया बताएको छ ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले भने, ‘यो नियमित छलफल मात्रै हो, यस्तो छलफलको विषयमा बाहिर भन्ने गरिएको छैन ।’

बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेलगत्तै तीन सुरक्षा निकायका प्रमुख गृह मन्त्रालय पुगेका थिए ।

ओलीसँग भेटेपछि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेपाल प्रहरीका प्रमुख शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी प्रमुख शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीलाई मन्त्रालयमा बोलाएका हुन् ।

मन्त्रालयमा दिउँसो ३ बजे भएको बैठकमा मुलुकको सुरक्षा स्थिति, विप्लव समूहका गतिविधि र अन्य समसामयिक विषयमा छलफल भएको बादलको सचिवालय स्रोतले बताएको छ ।

पहिले गृह मातहत रहेको राष्ट्रिय अनुसन्धान विभागलाई हाल प्रधानमन्त्री ओलीले आफू मातहत लगेका छन् । त्यसयता अधिकारीले प्रधानमन्त्रीलाई नै सिधै रिपोर्टिङ गर्दै आएका छन् ।

तर, उनी आइतबार गृहमा भएको सुरक्षा बैठकमा सहभागी भएका थिए । यसअघि प्रधानमन्त्रीसँगको भेटमा तीन सुरक्षा निकायका प्रमुखसहित प्रधानसेनापति पूर्णचन्द्र थापा पनि सहभागी थिए ।