चन्द्रमाका ढुंगा पृथ्वीमा ल्याउने चीनको योजना

मंसिर ९, काठमाडौं ।
चीनले सन् १९७० को दशकयता चन्द्रमाबाट ढुङ्गाका नमुना ल्याउन पहिलो पटक प्रयास गर्ने भएको छ । बिबिसीको रिपोर्टमा उल्लेख भएअनुसार आज मानवरहित यान अन्तरिक्षमा प्रक्षेपण गरिँदैछ ।

मङ्गलवार प्रक्षेपण गरिने चाङ’ए–५ यानले चन्द्रमाबाट केही नमुना ल्याउने अपेक्षा गरिएको छ । ती ढुङ्गा चन्द्रमाको उत्पत्ति र निर्माणको अध्ययनका लागि उपयोगी हुने चिनियाँ खगोलशास्त्रीको विश्वास छ ।

सन् १९७६ मा सोभियत सङ्घले पठाएको लुना–२४ ले अन्तिम पटक पृथ्वीमा त्यस्तो नमुना ल्याएको थियो ।

यदि अहिलेको योजना सफल भयो भने पृथ्वीमा चन्द्रमाको ढुङ्गा ल्याउने अमेरिका र तत्कालीन सोभियत सङ्घपछि चीन तेस्रो देश हुनेछ ।

चाङ’ए यानको नाम प्राचीन चिनियाँ चन्द्रदेवीको सम्मानमा राखिएको हो । त्यसलाई लङ मार्च ५ नामक रकेटबाट प्रक्षेपण गरिने बिबिसीले जनाएको छ ।

उक्त यानले चन्द्रमाको ‘ओशन अफ स्टोर्म्स’ भनिने अहिलेसम्म नपुगिएको स्थानबाट दुई किलोग्राम पत्थरको नमुना सङ्कलन गर्ने प्रयास गर्नेछ ।

लङ मार्च रकेटले चीनको अन्तरिक्षयान चन्द्रमामा प्रक्षेपण गर्नेछ । सन् १९७६ को अभियानमा १७० ग्राम नमुना ल्याइएको थियो भने मानवसहितको एपोलो मिशनले ३८२ किलोग्राम ढुङ्गा र माटो ल्याएको थियो ।

सूर्यको विकिरणबाट जोगाउन आवश्यक चुम्बकीय क्षेत्र क्षीण हुँदा पनि चन्द्रमा कसरी ज्वालामुखीय रूपमा सक्रिय भयो भनेर बुझ्न चाङ’ए–५ ले सघाउने अपेक्षा विज्ञहरूको छ ।

चीन सन् २०१३ मा पहिलो पटक चन्द्रमामा पुगेको थियो । उसले एक दशकभित्र मङ्गल ग्रहबाट पनि नमुना सङ्कलन गर्ने योजना रहेको बताएको छ ।