मंसिर ९, काठमाडौं ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रपतिमा भर्खरै निर्वाचित जो बाइडनलाई कार्यभार सम्हाल्नका निम्ति औपचारिक सत्ता हस्तान्तरण सुरु हुनसक्ने बताएका छन् ।
बिबिसीका अनुसार उनले त्यसका निम्ति जिम्मेवार सङ्घीय निकाय जनरल सर्भिसेस् एड्मिन्ट्रेशन (जिएसए) लाई ‘गर्नुपर्ने आवश्यक काम गर्न’ सिफारिस गरेको बताए । तर चुनावको परिणामविरुद्ध आफ्नो कानुनी लडाइ जारी रहने ट्रम्पको भनाइ छ ।
जिएसएले पनि बाइडनलाई ‘स्पष्ट विजेता’का रूपमा आफूले स्वीकार गरेको जनाएको छ ।
अमेरिकी राज्य मिशिगनमा राष्ट्रपति निर्वाचित जो बाइडनको जित औपचारिक रूपमा प्रमाणित भएसँगै मत परिणामलाई चुनौती दिने डोनल्ड ट्रम्पको प्रयासमा गम्भीर धक्का लागेको छ ।
जिएसएले बाइडन समूहलाई प्रक्रिया सुरु गर्ने भनी जानकारी दिएपछि ट्रम्पले ट्वीट गरेका छन् ।
ट्रम्पद्वारा नियुक्त प्रशासक इमिली मर्फीले राष्ट्रपति निर्वाचित बाइडनका निम्ति ६३ लाख डलरको कोष उपलब्ध गराउने बताएकी छन् । उनले प्रक्रियागत ढिलाइ गर्न आफूलाई ह्वाइट हाउसबाट कुनै दबाव नआएको जनाएकी छन् ।
बाइडनको समूहले पनि महामारी र राष्ट्रिय सुरक्षाका मुद्दामा सरकारी अधिकारीहरू सँगको बैठकहरूपछि सत्ता हस्तान्तरण सुरु हुने कुरा वक्तव्यमार्फत् जनाएको छ । उसले मर्फीको पत्रको स्वागत गरेको छ ।
ट्रम्पलाई धक्का लागेको मिशिगन राज्यको मत परिणाम घोषणालाई अन्तिम रूप दिन त्यहाँको दुईमध्ये एक रिपब्लिकनले दुईजना डेमोक्र्याटलाई साथ दिएका थिए ।
अर्का रिपब्लिकन भने त्यसबाट अलग्गिएका थिए । ट्रम्पको कानुनी समूहले अझै पनि मिशिगनको परिणामलाई चुनौती दिने बताएका छन् ।
ट्रम्पकी कानुनी सल्लाहकार जेना एल्लिसले प्रमाणीकरणलाई समान्य प्रक्रियागत कदम भनेकी छन् ।







