फेरि भित्रियो अवैध ‘टेस्ला’

मंसिर ९, वीरगञ्ज ।
गैरकानुनी रूपमा भित्रिएको ६ वटा विलासी कारको मुद्दा नसुल्झिएको अवस्थामा थप दुई वटा टेस्ला कार नेपाल भित्रिएको छ । सुरुमा वेस्टार ग्यालेक्सी प्रालि काठमाडौंले टेस्ला गाडी नेपाल ल्याएको थियो । तर अहिले कुन कम्पनीले भित्र्याएको हो पत्ता लाग्न सकेको छैन ।

अमेरिकी कम्पनीका दुई वटा टेस्लाको कार बेलायतको जेम्स कार्टर निर्यातकर्ताबाटै भित्र्याइएको वीरगंजस्थित सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयले जनाएको छ । भन्सार अधिकृत चुडामणि शर्माका अनुसार अवैध रूपमा भित्रिएका ६ वटा गाडीहरुको मुद्दा सर्वोच्च अदालत र जनकपुर उच्च अदालत स्थायी इजलास वीरगंजमा चलिरहेको अवस्थामा फेरि दुई वटा कार भित्रिएको हो ।

‘करिब एक वर्षदेखि अवैध रूपमा भित्रेका ६ वटा कारहरुको मुद्दा टुंगिएको थिएन,’ उनले भने, ‘फेरि दुई वटा टेस्ला कार नेपालमा बिना एजेन्सी दर्ता भएर ल्याइएको छ । वेस्टारले एक वर्ष अघि मगाएको एउटा टेस्ला कारको बारेमा मुद्दा लडिरहेकोले अर्को फर्म खडा गरी मगाएको छ ।’

दसैंभन्दा अघि डेढ महिनाअघि थप दुई वटा टेस्ला रेलबाट सिर्सिया भन्सार कार्यालयको यार्डमा झारिएको थियो । गाडी छुटाउन आयातकर्ता नआएकाले वेस्टारको अर्को फर्म वा साझेदार कम्पनी को हो भन्ने खुल्न नसकेको उनले बताए ।

नेपालको आर्थिक ऐनमा विदेशमा उत्पादन हुने कार कम्पनीको बिक्रेता वा एजेन्सी नेपालमा नभएको खण्डमा उक्त कम्पनीको कार भित्र्याउन पाइँदैन । यसरी नेपाल भित्र्याइएमा त्यसलाई गैरकानुनी मानिन्छ ।

तर, नेपाली कार आयातकर्ताहरुले चोर बाटोबाट ती ६ वटा कार भित्र्याएका थिए । २०१९ सेप्टेम्बर ७ का दिन किशोर गियरले २ वटा विद्युतीय ज्यागुअर गाडी मगाएको थियो भने त्यसको चार दिनपछि अर्थात सेप्टेम्बर ११ मा वेस्टार ग्यालेक्सीले एउटा पेट्रोलबाट चल्ने टेस्ला कार वीरगंज ल्याएको थियो ।

त्यसैगरी, प्रिन्सा मोटर्स प्रालि काठमाडौंले २०१९ नोभेम्बर ११ मा ३ वटा आउडी कार अवैधरूपमा भित्र्याएको भन्सार अधिकारीहरु बताउँछन् ।

गत जेठ १५ को बजेटमा पूर्व अर्थमन्त्री डा युवराज खतिवडाले अवैध रूपमा भित्रिएको गाडीको हकमा ३० प्रतिशत जरिवाना लिई जाँचपास गर्ने गरी बाटो खोले पनि ती ६ वटा गाडी आयातकर्ताले जाँचपास गर्नुको सट्टा अदालतमा मुद्दा लड्न पुगेका छन् ।

प्रिन्सा मोटर्सले ३ वटा आउडीको हकमा जाँचपास हुनु पर्ने सर्वोच्च अदालतमा रिट दायर गरेको थियो । सर्वोच्चले प्रिन्सा मोटर्सको रिट खारेज गरेको छ भने किशोर गियरले दुई वटा ज्यागुआर र वेस्टार ग्लेक्सीले एउटा टेस्ला कार छुटाउन जनकपुर उच्च अदालत अस्थायी इजलास वीरगंजमा रिट हालेको छ । जसमा अदालतको आदेश आउन बाँकी छ ।

भन्सार अधिकृत चूडामणि शर्माले भने, ‘हामीले पनि जवाफ पेश गरिसकेका छौं, एक पटक सुनुवाई पनि भइसकेको छ ।’ एउटै प्रकृतिको मुद्दामा सर्वोच्चले एक जना आयातकर्ताको रिट खारेज गरिसकेको अवस्थामा उच्च अदालतले पनि गैरकानुनी रुपमा भित्रिएको गाडीको हकमा उस्तै आदेश गर्ने अपेक्षा गरिएको उनले बताए ।

यसअघि किशोर गियर प्रालिले मगाएको पेट्रोलबाट चल्ने एउटा ज्यागुअर र ४ वटा रेन्जरोभर गरी ५ वटा गाडीको हकमा एक पटकका लागि भित्र्याउन दिने भनेर पूर्व अर्थमन्त्री डा युवराज खतिवडाले मन्त्रिपरिषद् स्तरीय निर्णय गरेपछि जाँचपास भइ छुटिसकेको छ । यसअघि पनि प्रिन्सा मोटर्सले तीन वटा आउडी कार अवैध रूपमा भित्र्याएर काठमाडौंको ग्राहकलाई बेचेको घटना सार्वजनिक भएको थियो ।