मंसिर, १२ वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इलेक्टोरल कलेज (निर्वाचक प्रतिनिधि) हरुले आफ्ना प्रतिस्पर्धी जो बाइडेनले जितेको औपचारिक घोषणा गरेमा ह्वाइट हाउस छाड्ने बताएका छन्।
निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै आउनु भएका ट्रम्पले औपचारिक रुपमा अझै आफ्नो पराजय भने स्वीकार गरेका छैनन् । यद्यपी यसअघि उनले सत्ता हस्तान्तरणको प्रक्रिया सुरु गर्नेमा आफ्नो सहमति जनाएका थए ।
ट्रम्पले चुनावको नतिजालाई अस्वीकार गर्ने अभूतपूर्व प्रयास गरेका थिए। चोरी मतपत्रको बारेमा भ्रम फैलाउँदै र अदालतमा शृंखलाबद्ध मुद्दा दायर गरेर कानुनी चुनौतीहरू दिएका थिए । तर अदालतले ट्रम्पले लगाएका आरोपहरुमा पर्याप्त प्रमाण नपुगेको जनाउँदै निवेदनहरु खारेज गरिदिएका थिए ।
हाल राष्ट्रपति ट्रम्पले दिनु भएको पछिल्लो अभिव्यक्तिले उहाँ पराजय स्वीकार गर्न नजिक पुग्नु भएको देखिएको छ । बाइडेनले जितेको कुरा इलेक्टोरल कलेजले औपचारिक पुष्टि गरेमा आफू ह्वाइट हाउसबाट बाहिरिने ट्रम्पले बताएका छन् । इलेक्टोरल कलेजको बैठक आउँदो डिसेम्बर महिनाको १४ तारिखमा हुँदैछ ।
अमेरिकी राष्ट्रपतिमा विजयी हुने उम्मेदवारको औपचारिक छिनोफानो इलेक्टोरल मतले गर्दछ । हाल डेमोक्रेटिक पार्टीका प्रत्यासी जो बाइडेनले ३०६ र डोनाल्ड ट्रम्पले २३२ मत प्राप्त गर्नु भएको देखिएको छ । संविधान अनुसार कूल ५३८ इलेक्टोरल मत रहेको अमेरिकामा २७० मत ल्याउने व्यक्ति राष्ट्रपतिमा निर्वाचित हुन्छन् ।
नयाँ राष्ट्रपतिले आगामी सन् २०२१ को जनवरी २० मा सपथ ग्रहण गर्नेछन् । त्यसयता जो बाइडेन राष्ट्रपति–निर्वाचितका रुपमा रहनु हुनेछ ।







