मंसिर १३, काठमाडौं ।
नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन अहिले भइरहेको छ । कोभिड–१९का कारण सात महिनापछि हुने निर्वाचनसँगै महासंघले नयाँ नेतृत्व पाउनेछ ।
शनिबार भइरहेको निर्वाचनमा तीन ठाउँमा मतदान केन्द्र तोकिएको छ । जिल्ला र नगर तर्फका लागि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा, एसोसिएट तर्फका लागि कार्की ब्याङ्केट थापाथलीमा र वस्तुगत तर्फको लागि महासंघको केन्द्रीय कार्यालयमा मतदान हुनेछ ।
कोरोना संक्रमित मतदाताहरुका लागि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा मतदानको व्यवस्था मिलाइएको छ । निर्वाचन अहिले विहान ८ बजेदेखि सुरु हुँदैछ ।
चार बजेसम्म मतदान गर्न पाउने समयावधि तोकिएको छ । कुनै विवाद र समस्या नआएमा शनिबार रातीनै मतपरिणाम आउनेछ । निर्वाचनसँगै वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष हुनेछन् ।
निर्वाचन आफ्नो पक्षमा पार्न रातभर चलखेल
महासंघको नयाँ नेतृत्वका पुग्नका लागि एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ६० कार्यकारिणी सदस्यका लागि १ सय २७ जना चुनावी मैदानमा छन् ।
कार्यकारिणी सदस्यतर्फ एक नम्बर प्रदेशबाट राजेन्द्र राउत र द्विराष्ट्रियबाट संदीप अग्रवाल निर्विरोध निर्वाचित भइसकेका छन् । महासंघको नयाँ नेतृत्वका लागि वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल र किशोरकुमार प्रधान प्यानलसहित चुनाबी मैदानमा उत्रिएका छन् ।
सबैभन्दा बढी मतभार रहेको जिल्ला र नगर आफ्नो पक्षमा पार्न दुबै पक्षले कडा कसरत गरेका छन् । जिल्ला र नगरको ५० प्रतिशत मतभार छ ।
जिल्लारनगरका मतदातालाई तान्न दुबै पक्षले आफ्नो सबै शक्ति प्रयोग गरेका छन् । जिल्लानगरका अध्यक्षहरु विभिन्न होटलमा राखिएका छन् ।
‘जिल्ला नगरका फ्लोटिङ भोटर तान्न रातभरि दुबै पक्षले कडा मेहनत गरेका छन्,’ महासंघका एक केन्द्रीय सदस्यले भने, ‘दुबै पक्षबाट रातभर सामदाम दुबै प्रयोग भएको छ ।’
शुक्रबार दिनभर मतदाता एउटा पक्षले अर्को पक्षमा पुगेको भन्दै हल्ला पनि फैलिएको थियो ।
को छन् सारथी?
ढकालको सारथिमा वस्तुगत उपाध्यक्ष उमेशलाल श्रेष्ठ, एशोसिएट उपाध्यक्ष रामचन्द्र संघई र जिल्ला नगर उपाध्यक्षमा गुणनिधि तिवारी छन् भने प्रधान समूहको वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ, एशोसिएट उपाध्यक्षमा सौरभ ज्योति र जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ सारथिका रूपमा छन् ।
वस्तुगतमा पनि अञ्जन र उमेशको चर्को प्रतिस्पर्धा छ । दुवै पक्षले आफ्नो पक्षमा केही सदस्य पार्न दौडधुप गरिरहेका छन् । दुवैमध्ये वस्तुगतमा केही मतको मात्रै फरकले जित्ने आकलन गरिएको छ । अञ्जनले निर्वाचित भएपछि गर्ने कामको दस्तावेज नै तयार पारेर सार्वजनिक गरिसकेका छन् । उनी इर्मजिङ समूह लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक हुन् ।
उमेश पनि महासंघका वस्तुगत नै उपाध्यक्ष हुन् । उनको औषधि उद्योग छ ।
महासंघको राजनीतिबाट बाहिरिएका ऊर्जा उद्यमी ज्ञानेन्द्रलाल प्रधान एशोसिएट चुनावको किङमेकर हुन् । उनीसँग ६२ भोट छ । प्रधानको भोटनै एशोसिएटमा निर्णायक हुने निश्चित छ ।







