मंसिर १६, काठमाडौं ।
खाद्य ऐन सबैभन्दा बढी उल्लंघन गर्ने व्यवसायका रुपमा प्रशोधित पिउने पानी उद्योग रहेको देखिएको छ । यसरी खाद्य ऐन नमान्ने पानी उद्योगलगायत मापदण्डनुसार सञ्चालन नभएका व्यवसायलाई कानूनी कारवाही गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ ।
साउनदेखि कात्तिकसम्मको पहिलो चौमासिकमा खाद्यसम्बन्धीका एक हजार १ सय ८९ नमूना सङ्कलन गरिएकोमा ७० नमूना मापदण्डानुसार नभएको पाइएको विगभका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिए ।
त्यसमध्ये सबैभन्दा बढी प्रशोधित पिउने पानीका २१, दानाका १६, तेल तथा घ्यूजन्य नमूना १४, खाद्यान्न १० लगायतका अन्य खाद्य पदार्थका नमूना रहेका छन् ।
यस्तै खाद्य स्वच्छता सर्भिलेन्सका लागि ८ सय ७६ नमूना सङ्कलन गरिएको छ । सो अवधिमा न्यूनस्तर तथा दूषित उत्पादन तथा बिक्री वितरण गरेको कसूरमा २६ उद्योगविरुद्ध मुद्दा चलाइएको छ । त्यसमध्ये पनि सबैभन्दा बढी पिउनेपानीका पाँच उद्योग परेका छन् ।
खानेतेलका तीन, बेकरी तीन, दाना, चाउचाउ, मिठाइका दुई÷दुई लगायत घ्यू, दही, चामल, सस, काजु किसमिस, खाद्य रङ, बियर, मटरफ्राइजस्ता खाद्य पदार्थ उत्पादन गर्ने उद्योग तथा व्यवसाय रहेका छन् ।
उक्त मुद्दामध्ये आठ मुद्दा न्यून गुणस्तरका, सात मुद्दा दूषितका, सात मुद्दा लेबललगायतका विवरण नमिलेका तथा बाँकी चार मुद्दा खाद्य ऐन नियम निर्देशिका उल्लङ्घनसम्बन्धी छन् ।
पहिलो चौमासिकमा मुलुकभर खाद्य र दाना उद्योग, होटल रेष्टुरेण्ट, राजमार्गका होटललगायत एक हजार ८ सय ७३ पटक निरीक्षण अनुगमन भएको छ । उक्त अवसरमा १ सय ५३ उजुरी कारवाही गरिएको छ ।
विभाग तथा मातहतका कार्यालयबाट भएको निरीक्षण अनुगमनमा खाद्य ऐन, २०२३, खाद्य नियमावली, २०२७ तथा निर्देशिकाबमोजिम उत्पादन नगर्ने ३४ उद्योग एवं खाद्य व्यवसायलाई उत्पादन रोक्का एवं सिलबन्दीका साथै नमूना सङ्कलन गरी कारवाही अघि बढाइएको छ । त्यसमा पनि सबैभन्दा बढी प्रशोधित पिउने पानीका उद्योग तथा व्यवसाय नै रहेका छन् ।
प्राप्त विवरणअनुसार पानीका १५ उद्योग, खाद्यान्न तथा दलहनका आठ, दूध तथा दुग्ध पदार्थका छ, तेल तथा घ्यूजन्यका तीन र अन्य तीन खाद्य व्यावसाय रहेका छन् ।
यसअवधिमा १ सय ५६ उद्योगलाई नयाँ अनुज्ञापत्र जारी गरिएको, ६ सय ३० उद्योग अनुज्ञापत्र नवीकरण तथा ६ सय ४२ नयाँ उद्योग स्थापना गर्न सिफारिस गरिएको विभागले जनाएको छ । आव २०७७–७८ को पहिलो चौमासिक अवधिमा जम्मा नौ हजार ५५ आयात अनुमति जारी गरिएको छ ।
विभिन्न १२ नाकामा रहेका खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयमा २५ हजार १ सय ५४ वटा नमूना प्राप्त भई सोको जाँच विश्लेषण गरी नियमन गरिएको जनाइएको छ । त्यसमध्ये पापड, चामल, बदाम, मसला, मैदा, वेसनलगायतका २५ वटा नमूना प्रतिकूल पाइएपछि आयात रोक्का गरिएको विभागले जानकारी दिएको छ ।
विभागले उपभोक्ताको स्वास्थ्य र सुविधा कायम राख्न खाद्य ऐन नियमको प्रभावकारी कार्यान्वयन गर्दै खाद्य प्रविधिको विकास तथा खाद्यमा आधारित पोषणको सुधारका लागि विभिन्न प्रवद्र्धनात्मक कार्यक्रम गर्दै आएको छ ।
खाद्य पदार्थको विश्लेषण, परीक्षणका लागि विश्वसनीय प्रयोगशाला सेवा प्रदान गर्ने कार्य खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग तथा मातहतका कार्यालयबाट हुँदै आएको जनाइएको छ । काठमाडौँलगायत मुलुकका ४३ कार्यालयबाट उक्त सेवा र अनुगमन हुँदै आएको छ । (रासस)







