अमेरिका–चीन व्यापार युद्ध : चीनले ल्यायो नयाँ निर्यात नीति

मंसिर १७, काठमाडौं ।
अमेरिकालाई लक्षित गरी चीनले नयाँ निर्यात नीति बनाएको बिबिसीले जनाएको छ । चीनद्वारा जारी नयाँ कठोर कानुनले थप ‘नियन्त्रित वस्तु’ निर्यातमा रोक लगाएको छ ।

यी नियमहरू चिनियाँ राष्ट्रिय सुरक्षामा प्रतिकूल प्रभाव पार्न सक्ने सैन्य प्रविधि र अन्य उत्पादनको निर्यातसँग जोडिएका छन् । नयाँ नियम अमेरिकाले चालेका यस्तै खालको कदमको जवाफ भएको बताइएको छ ।

मङ्गलवारदेखि कार्यान्वयनमा आएको नयाँ नियमले चीन र अमेरिकाबीच जारी व्यापार युद्धलाई थप चर्काउने चिन्ता व्यक्त भएका छन् ।

यस अघि टिकटक, ह्वावेइ र टेन्सेन्ट जस्ता कम्पनीहरू चिनियाँ प्रविधिमाथि अमेरिकी अंकुशको शिकार भइसकेका छन् । संसारका दुई ठूला अर्थतन्त्रबीच सन् २०१८ बाट व्यापारसम्बन्धी विवाद सुरु भएको भए पनि यो वर्ष त्यो थप चर्किएको छ ।

राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनले कैयौँ चिनियाँ कम्पनीले चिनियाँ सरकारलाई सूचना उपलब्ध गराउन सक्ने भन्दै तिनीहरूविरूद्ध कार्यकारी आदेश जारी गरेका छन् ।

न्याश्नल युनिभर्सिटि अफ सिंगापुरका अतिथि प्राध्यापक एलेक्स काप्रीका अनुसार चिनियाँ नयाँ निकासीसम्बन्धी कानुन ‘प्रविधि युद्ध चर्किएको प्रतिक्रिया स्वरूप आएको र यो चीनले आफ्नो मजबुत पक्ष लुकाउन गरेको प्रयास’ हो ।

चीनले ल्याएको नयाँ कानुनमा के छ?
निर्यात नियन्त्रण कानुनले नियन्त्रित सामाग्रीलाई विभिन्न समूहमा वर्गीकरण गर्छ जसमा परमाणु, सैन्य सामग्री र गैरसैनिक एवम् सैनिक दुवैमा प्रयोग हुनसक्ने सामग्रीहरू उल्लेख गरिएका छन् ।

यो कानुनले चीनको राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण भनिएका वस्तुहरूलाई समेटेको छ । निर्यातकर्ताले नियन्त्रित सूचीमा रहेका वा अस्थायी नियन्त्रणमा रहेका वस्तुहरू निकासी गर्न अनुमतिपत्रका लागि आवेदन दिनु पर्नेछ ।

नियम मिचेको अवस्थामा निर्यातकर्तालाई साढे सात लाख डलरसम्मका कारोबारको १० गुणासम्म जरिवाना गर्न सकिने व्यवस्था गरेको छ ।

उक्त कानुन अनुसार देशबाहिर रहेका संस्था वा व्यक्तिलाई पनि कारबाही गर्न सकिन्छ ।

दुर्लभ खनिज
यो कानुनले पृथ्वीबाट निकालिने दुर्लभ खनिजको निर्यातलाई पनि प्रभावित बनाउन सक्ने भन्दै त्यसको मूल्य बढेको छ । चीन दुर्लभ बहुमूल्य खनिजहरूको सबैभन्दा ठूलो आपूर्तिकर्ता हो ।

ती खनिज मोबाइल फोनदेखि वायु ऊर्जाका लागि आवश्यक टर्बाइन जस्ता विद्युतीय सामग्री बनाउन प्रयोग गरिन्छ । (बिबिसी)