मंसिर १८, काठमाडौं ।
आज बस्ने भनिएको सत्तारूढ नेपाल कम्युनिस्ट पार्टि (नेकपा)को स्थायी कमिटि बैठक स्थगित भएको छ । आगामी बैठक सचिवालय बैठक बसेको भोलिपल्ट अर्थात् २१ गत्ते बस्नेछ ।
नेकपाका अध्यक्षमध्ये एक तथा प्रधानमन्त्री केपी शर्मा ओली बिनै बुधबार बसेको बैठकले तीन निर्णय गरेको छ । आगामी मंसिर २० गतेको सचिवलय बैठकमा अध्यक्ष ओलीलाई उपस्थित हुन आग्रह गर्ने, २० गते १ बजे सचिवालय बैठक बस्ने र मंसिर १८ गतेलाई तय भएको स्थायी समिति बैठक २१ गते बस्ने भनी तीन वटा निर्णय भएका छन् ।
ती बैठकहरु बस्ने स्थानका बारेमा भने कार्यकारी अध्यक्ष प्रचण्डले नेताहरुसँग कुरा गरेर तय गर्ने बुधबारको सचिवालयको निर्णय छ ।
वरिष्ठ नेता झलनाथ खनालले पार्टीले विवेकपुर्ण निर्णय गर्ने भन्दै पार्टीको हृदय र दृष्टिकोण पनि व्यापक हुने भएकाले सवै नेता कार्यकर्तालाई समेट्ने योजनाअनुसार अध्यक्ष ओलीलाई तीन दिनको समय दिइएको जानकारी दिए ।
‘ओलीले पटक–पटक बैठक छल्दै आएको र फेरि पनि त्यही नियत दोहोरिए के गर्नुहुन्छ ?’ भन्ने प्रश्नमा नेता खनालले भने, ‘सवैलाई समेटेर अघि जाने कोशिस गर्दा पनि भएन भने मात्रै पार्टी अगाडि बढ्छ । ओली पनि सचिवालयको महत्वपुर्ण सदस्य तथा अध्यक्ष समेत भएकाले पार्टीले सवैलाइ समेटेर जान नै उपयुक्त हन्छ भन्ने निष्कर्षका साथ यो निर्णय गरिएको हो ।’







