बीमा समितिको अध्यक्षका लागि प्रतिस्पर्धा सुरु

मंसिर १८, काठमाडौं ।
नियामक बीमा समितिको आगामी अध्यक्षका लागि प्रतिस्पर्धा सुरु भएको छ । पुस २३ गतेबाट अध्यक्ष चिरञ्जीवी चापागाइँ अवकाश हुँदैछन् ।

उनी अझै एक कार्यकाल दोहोर्याउन चाहिरहेका छन् भने अन्य केहीले आफ्नो दाबेदारी प्रस्तुत गरिरहेका छन् । आगामी अध्यक्षका लागि राष्ट्र बैंकका बहालवाला डेपुटी गभर्नरदेखि पूर्वएमाले निकटका आकांक्षीहरुसम्मले जोडबल लगाइरहेका छन् ।

बीमा समिति बीमा कम्पनीहरुको नियामक निकाय हो । अहिले १९ वटा जीवन बीमा, २० वटा निर्जीवन बीमा र एउटा पुनर्बीमा कम्पनी सञ्चालनमा छन् । यी सबैको नियमन तथा सुपरिवेक्षण बीमा समितिले गर्छ ।

चापागाइँ राष्ट्र बैंकको निर्देशक हुँदाहुँदै राजनीतिक नियुक्तिमार्फत समितिको अध्यक्ष नियुक्त भएका थिए । तत्कालिन अर्थमन्त्री कृष्णबहादुर महराले उनलाई अध्यक्ष बनाएका थिए ।

चापागाइँसँगै डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी, चार्टर्ड एकाउन्टेन्ट महेश गुरागाइँ, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का पूर्व अध्यक्ष टंक पनेरु, राष्ट्र बैंकका निर्देशक डा. रामशरण खरेल अहिले प्रतिस्पर्धामा देखिएका छन् ।

शिवाकोटी दुई महिनापछि डेपुटी गभर्नरबाट अवकाश हुँदैछन् । अघिल्लो पटक प्रधानमन्त्री हुँदा केपी शर्मा ओलीले उनलाई डेपुटी गभर्नर बनाएका थिए । उनी गत चैतमा गभर्नरका लागि सिफारिसमा समेत परेका थिए ।

गभर्नरमा महाप्रसाद अधिकारीलाई जिम्मेवारी दिने बेलामा अर्को महत्वपूर्ण ठाउँमा शिवाकोटीलाई दिने आश्वासन दिइएको थियो भन्ने स्रोतको दाबी छ ।

महेश गुरागाइँले यसअघि नेपाल रिइन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत हुन खोजेका थिए । त्यहाँ उनलाई दिइएन । त्यसपछि उनलाई पर्यटन मन्त्री योगेश भट्टराईले नेपाल वायुसेवा निगमको जिम्मेवारीमा लैजाने चर्चा थियो ।

अहिले उनी बीमा समितिको अध्यक्षता दाबी गरिरहेका छन् । पार्टीमा योगदान गरे पनि जिम्मेवारी नदिइएको उनले आफ्ना निकटहरुसँग बताउने गरेका छन् ।

टंक पनेरुले नयाँ सरकार गठनपछि थुप्रै ठाउँमा आफूलाई एड्जस्ट गराउन खोजेका थिए । अहिले उनी बीमा समिति ताकिरहेका छन् । डा. खरेल आफूभन्दा पनि ससुरा (पूर्व अर्थमन्त्री) डा. युवराज खतिवडाको फेर समातेर बीमा समिति जान खोजिरहेको स्रोतको दाबी छ । उनलाई ससुरा खतिवडा मन्त्री हुँदा नागरिक लगानी कोषको सञ्चालक बनाएका थिए । त्यहाँ उनी अहिले पनि छन् ।

निर्देशक मात्र भएकाले उनी डेपुटी गभर्नर बन्न पाउँदैनन् । त्यसो हुँदा डेपुटी गभर्नरभन्दा माथिल्लो मर्यादा रहेको बीमा समितिको अध्यक्ष बन्न उनले पनि जोड गरेका हुन् ।

तर ससुरा मन्त्रीबाट हटेपछि उनको नाम प्रतिस्पर्धिको मुख्य सूचीमा नरहेको देखिन्छ ।