तनहुँ घटनाबारे आजको कांग्रेस पदाधिकारी बैठकमा छलफल हुँदै

मंसिर १९, काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले तनहुँ घटनाबारे छलफलका लागि पदाधिकारी बैठक बोलाएको छ ।

सभापति शेरबहादुर देउवाले उक्त विषयमा छलफल गर्न शुक्रबार दिउँसो २ बजे पदाधिकारी र पूर्वपदाधिकारीलाई आफ्नो निवास बुढानीलकण्ठ बेलाएका हुन् ।

सह–महामन्त्री डा. प्रकाशरण महतका अनुसार वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि तनहुँमा प्रहरी, प्रशासन र सरकारले गरेको दुर्व्यवहारलगायत विषयमा छलफल हुनेछ । बुधबार प्रहरीले तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई तीन घण्टा नियन्त्रणमा राखेको थियो ।

पौडेललाई प्रहरीले नियन्त्रणमा लिएपछि काँग्रेसले विरोध गरेको थियो भने सभापति देउवाले फोनमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीसँग नौ पौडेल पक्राउको विषयमा संवाद गरेका थिए ।

तनहुँको व्यास नगरपालिका १, १० र ११ जोड्ने बुल्दी खोलामा निर्मित पुल उद्घाटन गर्न पुगको नेता पौडेलको टोलीमाथि प्रहरीले हस्तक्षेप गरेको थियो ।

वरिष्ठ नेता पौडेल र नेकपा संघीय सांसद किसान श्रेष्ठ बीचको टकरावले पुल उद्घाटनका विषयमा तनाव सिर्जना भएको थियो । पूर्वाधार विकास कार्यालयमार्फत सम्पन्न भएको पुलको उपभोक्ता समितिले उद्घाटनको कार्यक्रम राखेपछि कार्यालयले पत्र काटेर कार्यक्रम स्थगन गर्न आग्रह गरेको थियो ।

उपभोक्ता समितिले वरिष्ठ नेता पौडेललाई प्रमुख अतिथि बनाएपछि नेकपा निकट युवा सङ्घले सोही पुलमा विरोधसभा आयोजना गरेको थियो । दुवै पक्षबीच झडप हुन सक्ने सम्भावनालाई ध्यानमा राखी जिल्ला प्रशासन कार्यालयले मध्याह्न १२ बजेदेखि साँझ ६ बजेसम्म सो क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो ।

निषेधाज्ञा उल्लंघन गरेको भन्दै बुधबार दिउँसो पक्राउ गरिएका नेता पौडेललाई साझ मात्र रिहा गरिएको थियो । तर बुधबार नेकपाका कार्यकर्ताले अवरोध गरेसँगै रोकिएको पुल उद्घाटनको कार्यक्रम विहीबार पौडेलले नै रिबन काटेर पुल उद्घाटन गरेका थिए ।

काँग्रेसले पौडेलसहित केन्द्रीय तहका नेताहरु उतारेर बिहीबार उद्घाटन गरेको थियो । काँग्रेस केन्द्रीय सदस्य शंकर भण्डारी, गोविन्द भट्टराई, प्रदीप पौडेललगायत पनि पुल उद्घाटनमा पुगेका थिए ।

यस्तै पुल उद्घाटन कार्यक्रममा गण्डकी प्रदेशसभाका काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलगायत सांसदहरुको पनि सहभागीता थियो । पुल उद्घाटन अघि जिल्ला पार्टी कार्यालय दमौलीबाट जुलुस निकालिएको थियो । काँग्रेसले जिल्लाभरका नेता कार्यकर्तालाई पुल उद्घाटन क्षेत्रमा उतारेको थियो ।