विश्व अर्थतन्त्रमा कोभिड-१९ को बाछिटा

सामान्यतय मे, अगस्टको समयमा तेलको माग र मुल्य बढ्नु पर्ने हो । तर, यसपाली त्यस्तो सम्भावना देखिँदैन ।

२००७/०८ को वित्तिय संकटका बेला फ्याशन गुरु कार्ल लागफेल्टले भनेका थिए, “धन्न अहिले विश्वमा १९२९ को ग्रेट डिप्रेसनमा भन्दा बढी धन छ र मन्दी थेग्न सक्ने सामर्थ्य बनेको छ ।” यो भनाइ अहिले पनि सान्दर्भिक छ ।

विश्व अर्थतन्त्रको आकार २० वर्ष अघि भन्दा आज झण्डै ३ गुना बढी छ । प्रविधिको अनुपम उपयोग र अनुसन्धान र परावर्तनमा बढेको लगानीले गर्दा स्वास्थ्य विज्ञानले ठुलो फड्को मारेको छ । चीन र भारत जस्ता उच्च जनसंख्या भएका मुलुकको आर्थिक उन्नति अभूतपूर्व छ, फलस्वरुप जनस्वास्थ्यका जोखिमसँग लड्न सक्ने संरचनात्मक क्षमताको पनि विकास भएको छ ।

प्रविधि स्थानान्तरण (टेक्नोलोजी ट्रान्स्फर) थप सहज भएको छ । देश र समाजहरु बीचको अन्तरसम्बन्ध र अन्तरकृया बढेको छ ।

फ्लाईट अवेरका अनुसार २०१९ मा विश्वभर हरेक दिन हवाई यात्रा गर्नेको संख्या सरदरमा करिब १ करोड २५ लाख थियो । यसर्थ, यातायात र संचारले गर्दा विश्वव्यापीकरण नयाँ उचाइमा पुगेको छ । यद्धपी, यसको अर्थ चीनमा हावा चल्दा अमेरिकामा पात हल्लिने, र जापानको तालमा ढुंगा हान्दा ब्राजिलमा छिटा पर्ने स्थिति सिर्जना भएको छ । कोभिड-१९ महामारीले यो सम्बन्ध उजागर गरेको छ। कोभिडको संक्रमण र यसले पहिलो केही महिनामा आकर्षण गरेको आर्थिक असर विषेश रुपमा चाख लाग्दो छ ।

वित्तीय बजार

संक्रमण सुरु भएको दुइ महिनामा नै वित्तीय बजारमा ठुलो ह्रास आयो । दुबै शेयर र बोण्ड बजारमा यसको प्रत्यक्ष असर देखा पर्‍यो । मध्य फेब्रुअरी देखि मार्च २० को बीचमा डाउ जोन्स (न्यूयोर्क स्टक एक्स्चेन्ज) को अंक ३०५ भन्दा बढीले तल झर्यो । मार्च १३ को दिन न्युयोर्क गभर्नर एण्ड्रु कोमो र राष्ट्रपति ट्रम्पले गरेको प्रेस कन्फरेन्स पछी बजार थप सशंकित भयो ।

इतिहासकै सबै भन्दा ठुलो शेयर बजार ह्रासको रुपमा उक्त दिन मै डाउ जोन्स १३५ ले घट्न पुग्यो । गत दुइ महिनामा एफटीएसइ (लण्डन स्टक एक्स्चेन्ज) करीब ३४५ ले घट्यो । त्यस्तै, निक्केइ (टोक्यो स्टक एक्स्चेन्ज) पनि उही बाटो पछ्याउँदै २८५ को हाराहारीमा घट्यो । छिमेकी मुलुक भारतमा नेफ्टी ५०, गत एक महिनामा झण्डै ३०५ ले घट्यो । यता नेप्से पनि फेब्रुअरी अन्त्यको निकै उत्साहजनक बृद्धिका बाबजुद मार्च लागेपछी लगातार तल झर्यो । मार्च अन्त्य सम्ममा करीब १६०० अंकबाट १२०० मा झरेको थियो, जुन २५५ हुन आउँछ।

आम लगानीकर्ता र बजारमा विश्वास तत्काल आइहाल्ने स्थिति छैन । आगामी एक देखि दुई क्वार्टर सम्म विश्व शेयर बजारमा केही घटबढ आउला । तर, २०२० को तेस्रो क्वार्टर सम्म पनि यो पूर्ण रुपमा तङ्गृने देखिँदैन ।

वित्तिय बजारको शिथिलता सम्बोधन गर्न, लगानी र खर्च बढाउने हेतुले अमेरिका, वेलायत, भारत, अष्ट्रेलिया लगायत मुलुकले केन्द्रिय बैंकको ब्याजदर कटौती गरेका छन् । कोभिडले गर्दा सुरक्षित लगानीको रुपमा सुनको माग बढ्दै गएकोमा ब्याजदर कटौतीले सुनको भाउ थप बृद्धि हुने देखिन्छ । उता, चीनमा तेलको माग र उर्जाको आपूर्ति घट्यो । त्यस्तै मार्चको पूर्वार्द्धमा रुस र साउदी अरब बीच तेलको मूल्यमा असहमति भयो । यी दुबै कारणले गर्दा तेलको मुल्य ब्यारलको ३० डलर भन्दा तल पुग्यो र २००३ पछिकै सबै भन्दा कममा झर्यो । सामान्यतय मे, अगस्टको समयमा तेलको माग र मूल्य बढ्नु पर्ने हो । तर, यसपाली त्यस्तो सम्भावना देखिँदैन ।

उत्पादन र उपभोग

२०१९ को फर्च्युन ५०० मा कुल १२९ चीनिया कम्पनी सूचीकृत भए । उक्त सूचीमा अमेरिकी कम्पनीको संख्या १२१ थियो । चीन विश्व उत्पादन र व्यापारको नायक बनेको यो सानो उदाहरण हो । तर कोभिड संक्रमण नियन्त्रणका लागि चीनले अर्पझट केही कठोर कदमहरु चाल्यो । यसले उत्पादनमा गहिरो खाडल निम्त्याएको छ । यस वर्षको पहिलो दुई महिना चीनको कुल औधोगिक उत्पादन १५५ को हाराहारीमा घटेको छ ।

फेब्रुअरीको पहिलो दुइ हप्ता त कार बिक्री ९२५ ले घट्यो । जेनेरल मोटोर्स को वुहान शहरमा रहेको उद्योग एक महिना ठप्प भयो भने अन्य क्षेत्रमा पनि उत्पादन सिमित गरियो । त्यस्तै, टोयोटाले आफ्नो १२ वटै उद्योग फेब्रुअरीको मध्यतिर बन्द गर्यो । भोल्क्स्वागेन, फोर्ड, फिअट लगायतका सबै कम्पनीको अवस्था पनि फरक रहेन । मेशिनरी उत्पादन गर्ने जेसीबी जस्ता कम्पनीले पनि उत्पादन र वितरण दुबैमा नकारात्मक असर झेल्नु पर्‍यो । जेसीबीका निर्माण सामग्री भित्रिने नेपाल जस्तै अन्य अल्पविकशित मुलुकलाई निकट भबिष्यमा वस्तु अभावको गहिरो प्रभाव पर्न सक्ने देखिन्छ ।

त्यसो त, वस्तु र सेवाको उत्पादन चीनमा मात्र नभएर विश्वभर नै घट्ने पक्का छ । चीन आफैंमा ठूलो आयतकर्ता हो । त्यहाँको माग घट्ने भएपछि निर्यातकर्ताहरुले उत्पादन कम गर्नु स्वाभाविक हो । अन्य मुलुकहरुमा पनि बजार र व्यापार सुख्खा हुँदै गएको छ । यसको अर्थ उत्पादन र उपभोग दुबै घटेको छ । उदाहरणका लागि ओपन टेबलको तथ्यांक अनुसार रेस्टुराँ रिजर्भेसन गत बर्ष मार्च महिनाको तुलनामा क्यानडामा ९४५, जर्मनीमा ९०५, अमेरिकामा ८४५ र वेलायतमा ८२५ ले घटेको थियो । नेपालमा पनि शहरी क्षेत्रमा केही समय उपभोग न्युन हुने देखिन्छ ।

श्रम बजार

उत्पादन र उपभोग दुबै घट्दा श्रम बजार प्रभावित नहुने कुरै भएन । अमेरिकामा गत हप्ता १५ लाख नागरिकले बेरोजगार भत्ता दाबी गरे । चीनमा यस वर्षको पहिलो दुई महिनामा शहरी बेरोजगार ५० लाख भन्दा बढी पुगेको आंकलन छ । विश्वभर रोजगारबाट बाहिर हुनेको संख्या अप्रिल र मेमा झन् बढ्यो ।

श्रम बजारमा परेको प्रभाव नेपालका लागि चिन्ताजनक छ । ४० लाख भन्दा बढी श्रमिक वैदेशिक रोजगारमा छन्। विप्रेषण मार्फत हुने उपभोगले कुल गार्हस्थ्य उत्पादनको ३०५ धानेको छ । देश भित्र आर्थिक अवसर र रोजगारीका ढोकाहरु सिमित छन्। यस्तो अवस्था मा वैदेशिक श्रम बजार पनि ठप्प र व्यापार शुन्य हुनुले धेरै निम्न वर्गीय घरको चुलो निभ्ने सम्भावना हुन्छ ।

विश्वभर वितरण प्रकृया (सप्लाई चेन) अवरोधले गर्दा महंगी बढ्छ । जो होचो उसकै मुखमा घोचो ( निम्न वर्गीय) नै यसको मारमा पर्छन । यसले गरिबीको रेखाको ठिक माथि रहेकालाई पुन: गरिबीको रेखामुनि धकेल्दिने सम्भावना प्रबल हुन्छ । सरकारले यी सम्भावित समस्याहरु सम्बोधन गर्ने सामाजिक सुरक्षा र विपत व्यवस्थापनका योजना बजेटमा त ल्याएको छ । तर, तत्काल देखिएका समस्याले दीर्घकालिन असरको सम्भावना बोकेको छ । यसबाट तङ्गृन सरकारका विभिन्न अंगबीच समन्वयन र निजी क्षेत्रको नयाँ अग्रसरता आवश्यक छ ।

(लेखक बेइजिङ विश्वविद्यालयमा अर्थशास्त्र अध्यनरत छन् )

Twitter: @bbregmi