कोरोना विरुद्धको खोपको नमुना लिएर नेपाल आउँदै रुसी टोली

मंसिर २०, काठमाडौं ।
रुसले विकास गरेको कोरोनाविरुद्धको खोपको नमुना लिएर रुसी कूटनीतिक टोली नेपाल आउने भएको छ ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालका विज्ञ सल्लाहकार डा. खेम कार्कीले आगामी हप्ता रुसी कुटनीतिक टोली नेपाल आउने जानकारी दिएका छन् । टोलीले कोरोना विरुद्धको खोपको नमुनासमेत ल्याउने उनको भनाइ छ ।

रुसी टोलीको नेपाल भ्रमणकै विषयमा केन्द्रित भएर स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई नेपालस्थित रसियन राजदूतावासका कर्मचारीले भेट गरेका थिए ।

रुसी टोलीको नेपाल भ्रमण र मन्त्रीसँग दूतावासका कर्मचारीको भेटका विषयमा जिज्ञासा राख्दा डा कार्कीले भेट विशेष नभएको बताए । ‘यो ठूलो विषय होइन । रुसले एउटा माइनस १८ र अर्को २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्नुपर्ने भ्याक्सिन बनाएको रहेछ,’ मन्त्रीका विज्ञ सल्लाहकार कार्कीले भने, ‘उहाँहरू नेपालमा आउँदा त्यसको केही स्याम्पल नेपाल लिएर आउने र त्यसलाई भण्डारण गर्ने विषयमा कुराकानी भएको हो ।’

कार्कीका अनुसार रुसले विकास गरेको खोप नेपालमा प्रयोग गर्ने गरी ल्याउन लागिएको भने होइन । ‘कुनै पनि खोप प्रयोग गर्नुपूर्व नेपाल औषधि विभागमा दर्ता गर्नुपर्ने हुन्छ । अन्य धेरै प्रक्रिया पनि छन्,’ उनले भने, ‘अहिल्यै प्रयोग गर्ने गरी ल्याउन लागिएको होइन ।’

नेपालसँग कूटनीतिक सम्बन्ध भएका देशलाई कोभिड भ्याक्सिनमा सहयोग गर्न आग्रह गर्दै नेपालले कूटनीतिक रूपमा पत्राचार गरेकाले त्यसको ‘रेन्सपोन्स’ गर्न रुसी टिम नेपाल आउन लागेको उनको भनाइ छ ।

रुसले स्पुतनिक–भी भ्याक्सिन निर्माण गरिरहेको छ । यसको प्रभावकारिता दर ९० प्रतिशतभन्दा बढी भएको दाबी गरिँदै आएको छ । तर यसको प्रयोगका लागि स्वीकृति भने दिइएको छैन ।