भारतबाट पाइपलाइनमार्फत पेट्रोल आयात गर्ने तयारी

मंसिर २०, काठमाडौं ।
मोतीहारी पेट्रोलियम पाइपलाइनबाट अब पेट्रोल पनि आयात गर्ने तयारी आयल निगमले थालेको छ ।

१५ महिनादेखि भारतबाट डिजेल मात्रै आयात गरिरहेको निगमले अबको करिब ८ महिनापछि पेट्रोल पनि ल्याउने तयारी अघि बढाएको हो ।

यसका लागि भारतीय आयल कर्पोरेसन (आइओसी) सँग छलफल भइरहेको निगमले जनाएको छ । आइओसीले मोतीहारीमा भर्टिकल ट्यांक बनाएलगत्तै पाइपलाइनबाटै पेट्रोल आयात हुने निगमको अमलेखगन्जस्थित २ नम्बर प्रादेशिक कार्यालय प्रमुख भरत रेग्मीले जानकारी दिए ।

रेग्मीका अनुसार पेट्रोल भण्डारणको लागि अमलेखगन्जमा ४२–४२ लाख लिटर क्षमताका थप दुई वटा पेट्रोल ट्यांक, ३०–३० लाख लिटर क्षमताका दुई वटा पानी ट्यांक, अत्याधुनिक प्रयोगशाला लगायतका संरचना निर्माण हुनेछन् । ट्यांक निर्माण पूरा भएपछि मोतोहारीबाट पम्पिङ गरेर पेट्रोल आयात गरिनेछ ।

पूर्वाधार निर्माणका लागि निगम सञ्चालक समितिले पानै २ अर्ब रुपैयाँ बजेट स्वीकृत गरिसकेको रेग्मीले जानकारी दिए । पाइपलाइनबाट प्रतिघण्टा बढीमा ४ लाख लिटर पेट्रोल आयात गर्न सकिने छ ।