मंसिर २१, कञ्चनपुर ।
जिल्लाका तीन नगरपालिकाका आर्थिकरूपमा विपन्न परिवारको खरको छाना फेरिने भएको छ । शहरी विकास मन्त्रालयको सुरक्षित आवास कार्यक्रमअन्तर्गत विपन्न परिवारका घरका छाना फेरिने भएका हुन् ।
शुक्लाफाँटा, वेदकोट र कृष्णपुर नगरपालिकाका गरी ८ सय ६१ आर्थिकरूपले विपन्न परिवारलाई सुरक्षित आवासमा बस्ने व्यवस्था मिलाउनका लागि छाना फेर्ने कार्य हुन लागेको हो । खरको छाना भएका घरमा जस्तापाता राख्नका लागि कार्यक्रम लागू गरिएको छ ।
कार्यक्रमअन्तर्गत एक घर बराबर रु ५० हजार बजेट खर्च गरिने बताइएको छ । ‘घरको छाना राख्नका लागि आर्थिक जोहोको व्यवस्था मिलाउन नसक्ने विपन्न परिवारको नगरपालिकाले विवरण तयार गरेपछि छाना फेर्ने काम शुरु गरिनेछ,’ प्रतिनिधिसभाका सांसद नरबहादुर धामीले भने, ‘छाना फेर्न आवश्यक भएका परिवारको विवरण तयार गर्नका लागि स्थानीय तहलाई भनिसकेका छौँ । केही दिनभित्रै छाना फेर्ने काम हुन्छ ।’
उनका अनुसार कृष्णपुर नगरपालिकामा ३ सय १३, वेदकोट नगरपालिकामा २ सय ७१ र शुक्लाफाँटा नगरपालिकामा २ सय ७७ परिवारको खरको छाना विस्थापित गरी जस्तापाता राखिनेछ ।
निर्वाचनका बेला निर्वाचन क्षेत्रमा रहेका आर्थिकरूपले विपन्न परिवारलाई सुरक्षित आवासको व्यवस्था मिलाउने प्रतिबद्धताअनुसार घरको छाना फेर्ने काम हुन लागेको उनले बताए । (रासस)







