मंसिर २२, काठमाडौं ।
रुस नागरिकस्तरमा कोरोनाविरुद्धको भ्याक्सिन अभियान चलाउने पहिलो मुलुक बनेको छ । रुसले बृहतरुपमा सर्वसाधारणलाई कोरोना भाइरसविरुद्धको भ्याक्सिन लगाउन सुरु गरेको छ ।
हाल राजधानी मस्कोमा भ्याक्सिन अभियान सञ्चालन भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । रुसी समाचार संस्था तासका अनुसार रुसमा अर्को सातासम्ममा सबै क्षेत्रमा भ्याक्सिन लगाउन सुरु गरिनेछ ।
रुसी उपप्रधानमन्त्री टाटिआना गोलिकोभाको भनाई उदृत गर्दै तासले सैनिकहरुमा भ्याक्सिन अभियान चलिसकेको जनाएको छ ।
रुसले जनसंख्या, उमेर र जोखिममा काम गर्ने हेरेर भ्याक्सिन लगाउन थालेको छ । खतरामा काम गर्ने स्वास्थ्यकर्मी, शिक्षकलगायत भ्याक्सिन पाउने प्राथमिकतामा परेका छन् ।
रुसले ४२ दिनभित्र भ्याक्सिन अभियान पूरा गरिसक्ने लक्ष्य लिएको छ ।
यसअघि रुस कोरोना भाइरसविरुद्धको भ्याक्सिन विकास गर्ने पहिलो मुलुक बनेको थियो । रुसको गेमिलियाले स्पुतनिक भी नामको भ्याक्सिन विकास गरेको थियो ।







