३२ जेठ, काठमाडौं । राष्ट्रियसभाको बैठकले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । आजको दोस्रो बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सो प्रस्ताव प्रस्तुत गरेकी थिइन् ।
उक्त विधेयकमाथिको सैद्धान्तिक छलफल उठेका जिज्ञासामा उहाँले विधेयक प्रतिनिधिसभाबाट पारित भएसँगै ‘नेपालका सबै राजनीतिक दलहरु राष्ट्रियताका सवालमा एक हुन्छन्’ भन्ने पुष्टि भएको उल्लेख गरिन् ।
यस अघि सो प्रस्ताव माथिको छलफलमा नेपाली काँग्रेसका प्रकाश पन्थ, तारादेवी भट्ट, रमेशजङ्ग रायमाझी, नेकपाका सुमनराज प्याकुरेल, मायाप्रसाद शर्मा, गोपीबहादुर सार्की अछामी, भगवती न्यौपाने, जीवन बुढा, रामलखन चमार, दीपा गुरुङ, चक्रप्रसाद स्नेही, खीमकुमार विक र मेहशकुमार महराले प्रस्ताबको पूर्ण समर्थनमा धारणा राखेका थिए ।
राष्ट्रियसभाको अर्को बैठक सोमबार ११ बजे बस्ने छ ।







