मंसिर २९, काठमाडौं ।
सिद्धबाबा भनी चिनिने कृष्णबहादुर गिरी प्रतिवादी भएको बलात्कारसम्बन्धी विवादास्पद फैसलाबारे न्याय परिषद्मा उजुरी परेको छ ।
पीडित महिलाले आइतबार न्याय परिषद्मा उजुरी दर्ता गराएको परिषद्को सचिवालयका शाखा अधिकृत रमेश आचार्यले जानकारी दिए ।
बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा रहेका सिद्धबाबाका पक्षमा सुनसरी जिल्ला अदालतका न्यायाधीश अर्जुन कोइरालाले फैसला गरेपछि उनी विवादमा तानिएका थिए ।
पीडित पक्ष मंसिर २४ गते नै उजुरीका लागि न्याय परिषद् पुगेका भएपनि प्रक्रिया पुर्याएर आइतबारमात्रै उजुरी दर्ता भएको हो ।
गिरीले अनुयायी महिलामाथि बलात्कार गरेको आरोप लागेको छ । गत मंसिर २२ गते न्यायाधीश कोइरालाको इजलासले उनीमाथि लागेको अभियोग दाबी नठहर्ने भन्दै सफाई दिएका थिए ।
गिरीमाथि अनुयायी महिलालाई २०७६ कात्तिक ४ गते आफ्नै आश्रममा बलात्कार गरेको आरोप लागेको थियो । प्रहरीले उनलाई पक्राउ गरेर मुद्दा चलाएको थियो ।







