गायक अमृत गुरुङ भन्छन् “मनोरन्जन उद्योग निर्दयी हुन्छ”


१ असार, काठमाडौं । ‘नेपथ्य ब्यान्ड’ का गायक अमृत गुरुङ आफ्नी हजुरआमाले दिएको गोठमा बस्न थालेको तीन महिना पुग्न लागिरहेको छ। लकडाउनले गर्दा कृषकका रूपमा उनी त्यहाँ आफ्नो दैनिकी बिताइरहेका छन् ।

पोखराको घर भन्दा १२ किलोमिटर टाढा कास्की र स्याङ्जाको सीमावर्ती भेगमा रहेको छ उनको गोठ, अनि नजिकै पर्छ उनको पुर्ख्यौली गाउँ ।

प्रत्येक दिन जस्तो तस्बिर सहित आफ्नो अनुभूति सामाजिक सन्जाल मार्फत व्यक्त गर्ने गरेका छन् गायक अमृत गुरुङले । कहिले ढिडो खाना खाँदै, कहिले रोपाई, मकै गोड्मेल्, ऐँसेलु टिप्दै गरेको, संगीतमा रमाउँदै त कहिले खेतलासँग बिताएका तस्बिरहरुमा उनलाई देख्न सकिन्छ ।

आज मात्र उनले भनेका छन “धेरैले मेरो गाऊँले जीवनको तारिफ गरे। धन्यबाद । मनोरन्जन उद्योग निर्दयी हुन्छ । मैले यसका सबै पक्ष भोगेको छु । सफल-विफल, माया-घृणा, आफू चल्न प्रतिद्वन्दीले गर्ने निकृष्ट व्यवहार सबै अत्यास लाग्दो हुन्छ। यसबाट बच्ने उपाय भनेको-आफ्नो जरासँग जोडिएर बस्ने हो । नमात्तिने, नआत्तिने, बाँचिरहने ।”

तोरी, मकै, काँक्रो, धान रोपाई, गाई, भैंसी, बाख्रा पालन आदी कृषि तथा पशुपालन कर्ममा व्यस्त छन् उनी । निकै व्यक्तिगत अनुभब पछि उनी भन्छन् ” विविध कारणले गर्दा कृषि कर्ममा अहिले परम्परा निर्वाह गर्ने काम मात्र भइरहेको छ नेपालमा, फाइदा नहुदो रहेछ।” यद्दपी आत्मसन्तुष्टिको स्वादमा रमाइरहेको बताउँछ्न् अमृत गुरुङ ।

तस्बिरहरु: अमृत गुरुङ