रुपन्देहीमा पाँच जनाको हत्या गर्ने झसेन्द्रलाई जन्मकैद

पुस, ३ रूपन्देही । सात महिनाअघि तिलोत्तमा नगरपालिका–१०, मैनहवामा भएको सामूहिक हत्यामा संलग्नलाई जिल्ला अदालत रुपन्देहीले जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश मातृकाप्रसाद मरासिनीको एकल इजलासले सुर्खेत जिल्लाको लेकबेंसी नगरपालिका–३ का स्थायी बासिन्दा हाल बुटवलमा बस्दै आएका अभियुक्त ३१ वर्षीय झसेन्द्र सिँजाली मगरलाई बुधबार जन्मकैदको फैसला गरेको हो ।  

सिँजालीले ०७७ जेठ २ गते तिलोत्तमा–१० मा रहेको गंगादेवी पशु फार्ममा काम गर्ने रूपन्देहीको सैनामैना नगरपालिका–५ दरखासी घर भएका ४० वर्षीय माधव मुसहर, उनकी श्रीमती ३७ वर्षीया जानकी, १६ वर्षका पोषराज मुसहर, १५ वर्षका करण चौधरी र १६ वर्षका आशिष चौधरीको हत्या गरेका थिए । 

सँगै फर्ममा काम गर्दै आएका सिँजालीले आफूलाई उनीहरूले गलत अफवाह फैलाएर चरित्र हत्या गरेपछि रिसको झोकमा हत्या गरेको प्रहरी अनुसन्धानमा स्वीकार गरेका थिए । 
पोस्टमार्टम रिपोर्ट, प्रहरीको अनुसन्धान र अभियुक्तको बयानमा घटना नियोजित रूपले गरेको दसी प्रमाणले देखाएकाले जन्मकैदको फैसला भएको अदालतले जनाएको छ । सिँजालीले पाँचै जनालाई राति सुतेको बेला गाईगोठमै फरुवाले टाउकोमा प्रहार गरेर हत्या गरेका थिए ।