पुष ४, काठमाडौं ।
सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको परिस्थितिविरूद्ध सबै एकजुट भएर लड्नुपर्ने बताएका छन् ।
शुक्रबार पार्टी कार्यालय पेरिस डाँडामा प्रदेश–१ का प्रचण्ड–नेपाल समूह निकट जिल्ला अध्यक्ष र सचिवहरुको भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीको एकलौटीपन र पछिल्लो परिस्थितिविरूद्ध सबै एकजुट भएर लड्नुपर्ने बताएका हुन् ।
प्रदेश १ बाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यसमेत रहेका जगननाथ खतिवडाका अनुसार भेलामा प्रचण्डले हामी निषेध होइन, नियन्त्रण गरेर जानु विधि अनुसार अगाडि बढ्ने बताएका हुन् ।
भेलाले ओलीले अध्यादेश फिर्ता नलिए थप कदम चाल्ने निष्कर्षसमेत निकालेको छ ।
‘अध्यादेश फिर्ता नभए हामीले थप कदम चाल्छौं र आजको भेलामा पनि त्यही विषयमा कुराकानी भयो,’ खतिवडाले सञ्चारकर्मीहरूसँग बोल्दै भने, ‘प्रधानमन्त्री ओलीबाट विधि, पद्धति र नेकपाको राजनीति स्खलन भइरहेको छ ।’
पार्टीको अवस्था र अहिलेको परिस्थितिबारे जानकारी गराउन भेला आयोजना गरिएको खतिवडाले जानकारी दिए । प्रचण्डले आफ्नो प्रतिवेदन विधि र विधानको लागि भएको स्पष्ट पारेका थिए ।
भेलामा मुख्य गरी पार्टीभित्रकै सवालहरुका बारेमा छलफल भएको थियो । पछिल्लो अवस्थाका बारेमा हामीले के कस्तो भूमिका खेल्ने हो भनेर नेताहरुले ओरिन्टेसन गरेको उनले जानकारी गराए ।
पार्टी कार्यालय पेरिसडाँडामा भएको भेलालाई पार्टी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपालले सम्बोधन गरेका थिए ।
‘सम्बोधन गर्ने सबै नेताहरूले सबैले पार्टी एकताका सैद्धान्तिक पक्ष, ऐतिहासिक सन्दर्भ, अबको बाटोलगायतका विषयमा कुराकानी गर्नुभयो,’ खतिवडाले भने, ‘सबैको निष्कर्ष एउटै हो, पार्टीलाई विभाजित हुन नदिने र गलत प्रवृत्तिका विरुद्ध लडिरहने ।’
प्रधानमन्त्री ओली एकलौटी ढंगले अघि बढ्न खोजेको भए पनि उनमा अहिले सचेतना आएको धारणा तीन नेताले बताएका थिए । ‘हाम्रो चाहना पार्टीलाई एकताबद्ध बनाएर लैजाने हो । स्थायी कमिटीबाट कुनै निश्कर्ष ननिस्किए केन्द्रीय कमिटीमा लैजाने भनेर तीन नेताले भन्नुभएको छ,’ केन्द्रीय सदस्य एवम् प्रदेश १ का नेकपा सचिव सुरेश राईले भने, ‘पार्टीलाई विधि र पद्धतिमा लैजानका लागि प्रयास भइरहेको र त्यसकै लागि अहिलेका भेलाहरू भएको उहाँहरूले बताउनुभएको थियो ।’
यसअघि बागमती प्रदेशका जिल्ला अध्यक्ष र सचिवहरुको भर्चुअल भेला समेत प्रचण्ड–माधव नेपाल पक्षले गरिसकेको छ ।
पछिल्लो समयमा नेकपाभित्र गुटका भेला र बैठकहरु चलिरहेका छन् । प्रचण्ड–माधव नेपाल पक्षले विद्यार्थीको भेला समेत बिभिन्न प्रदेशमा गरिसकेको छ ।
संवैधानिक परिषद्सम्बन्धी सरकारले पछिल्लोपटक ल्याएको अध्यादेशसँगै नेकपा विवादले नयाँ मोड लिएको थियो । दुई दिनअघि बसेको नेकपा स्थायी कमिटी बैठकमा अध्यक्षादेश फिर्ता लिने र संसदको विशेष अधिवेशन बोलाउन गरिएको सांसदहरूको हस्ताक्षर फिर्ता लिने प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच सहमति भएको थियो । तर अझै अध्यादेश फिर्ता भएको छैन ।







