इन्भेस्टमेन्ट र हिमालयन बैंक ‘मेगा मर्जर’को अन्तिम चरणमा

पुष ४, काठमाडौं ।
निजी क्षेत्रका दुई पुराना बैंक नेपाल इन्भेष्टमेन्ट र हिमालयन बैंकको मर्जरको अन्तिम चरणमा पुगेको छ । बैंक अफ एसिया र एनआईसी बैंक मिलेपछि अहिले उक्त बैंक निकै आक्रामकरुपमा बजार विस्तारमा लागेको छ र यसको पेलानले यसपटक भने आफ्नो पुरानो हैसियत प्राप्त गर्न इन्भेष्टमेन्ट र हिमालयन बैंक निकै गम्भीरतापूर्वक अगाडि बढ्न प्रोत्साहित गरेको छ ।

मर्जका लागि स्वाप अनुपात, कार्यकारी प्रमुख र सञ्चालक समिति व्यवस्थापन र कर्मचारी व्यवस्थापन मुख्य समस्याको रुपमा आउनेछन् । त्यसैले सबै कुरा पहिलै नै मिलाउन भित्रभित्रै यी बैंकले सहमति पैदा गरिसकेको बताइएको छ ।

आफ्नो हातभन्दा बाहिरको कुरा डीडीए हो । सम्पत्ति र दायित्वको विस्तृत लेखा परीक्षण डीडीए गरी काम सम्पन्न गर्न लागेको समाचार सूत्रहरुले दाबी गरेका छन् ।

यदि त्यसो हो भने दुई महिनाभित्रमा मर्जको काम सम्पन्न भैसक्नेछ । किनकि सञ्चालक, कार्यकारी प्रमुख र नायव कार्यकारी प्रमुखको व्यवस्थापन मोडालिटी तयार भैसकेको बताइएको छ ।

बाँकी कर्मचारी बराबारी हैसियतमा व्यवस्थापन भैसक्नेछन् । सेयर स्वापको १ः१ हैसियत सहमति भैसकेको र डीडीए त्यसलाई बैधता दिन मात्र गरिने भएकोले यसका लागि लामो समय लाग्ने देखिँदैन । यसपटक मुख्यकुराका बूँदाहरुमा लिखित प्रतिबद्धता आदान प्रदान भैसकेकोले यसपटक भने यिनीहरुको मिलन संभव देखिन्छ ।

हिमालयन र इन्भेष्टमेन्टको आपसी मिलन नेपालकै सबैभन्दा ठूलो मेगा मर्जको रुपमा दरिनेछ । एकीकृत भइ बन्ने बैंक पनि नेपालकै सबैभन्दा ठूलो हुनेछ ।

केही बर्षअघिसम्म यी दुई बैंक नेपालका ठूला बैंकमध्येमा पर्थे । तर प्रतिस्पर्धाको विस्तारसँगै अन्य कतिपय बैंकहरुले उछिनिसकेकोले दुई बैंकलाई मर्ज हुन बाध्यकारी स्थिति सिर्जना भएको छ ।

मर्जपछि सबैभन्दा ठूलो बैंक
मर्जपछि यो बैंक नेपालकै सबैभन्दा ठूलो बैंक बन्नेछ । गत असारसम्मको तथ्यांक अनुसार चुक्ता पुँजी करिव २३ अर्बसहित कुल पुँजीकोष झण्डै ४६ अर्बको हुनेछ । निक्षेप ३ खर्ब र कर्जा लगानी करिव २५० अर्ब हुनेछ ।

पछिल्लो समय दुवै संस्थाले निक्षेप संकलन र कर्जा लगानी बढाएका छन् । विशेषगरी इन्भेष्टमेन्ट बैंकले अझ बढी दरमा बढाएको छ । मुख्य व्यापारिक स्थलहरुमा शाखा सञ्जाल १५० भन्दा बढी पुग्नेछ । बैंक मर्जपछि हिमालयन बैंकमा रहेको पाकिस्तानी हबिब बैंकको सेयर बेलायतको एक बैंकलाई बिक्री गरी बाह्य संयुक्त लगानीको बैंकको रुपमा स्थापित गरिने जनाइएको छ । उक्त सेयरलाई सञ्चयकोषले पनि खरिद गर्ने इच्छा प्रकट गरेको जनाइएको छ । हिमालयन बैंकको २० प्रतिशत र इन्भेष्टमेन्ट बैंकको ३० सेयर पब्लिकमा रहेको छ ।

अन्य बैंकलाई पनि मर्जका लागि दबाब
हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंक मर्ज भएपछि विशेषगरी राष्ट्रबैंकको बैंकसंख्या घटाउने उद्देश्य अनुरुप अगाडि बढ्न अन्य बैंकहरुलाई दबाब बढ्नेछ । नबिल बैंकले साझेदार बैंक खोज्नुपर्नेछ । एनआईसी एसियाले पनि मर्जका लागि उपयुक्त साझेदार खोज्नुपर्नेछ ।

कोभिडको प्रभाव नभएको भए केन्द्रीय बैंकले हालसम्ममा ६ वटा सम्म बैंक मर्ज गराइसक्ने थियो । बजारमा तीब्ररुपमा अस्वस्थ प्रतिस्पर्धा भै साना बैंकहरुलाई अहिले नै टिक्न धौ धौ परिरहेको छ । खासमा साना केही बैंकहरु विकास बैंकको मोडलमा काम गरिरहेका छन् । यसले समग्रमा बैंकको संख्या घटाउन ठोस सहयोग पुग्नेछ ।