स्टारले पठाएको ‘डिकोडर’ एक महिना भन्सारमा अड्किए

पुष ४, काठमाडौं ।
आफ्ना च्यानल विज्ञापनरहित प्रसारण गर्न टेलिभिजन प्रसारक ‘स्टार’ कम्पनीले निःशुल्क रूपमा पठाएको सर्भर लिंकका उपकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले एक महिनाभन्दा बढी होल्ड गर्दा नियमित प्रसारणमा असर परेको छ ।

स्टार नेटवर्कले गत कात्तिक २६ गते करिब एक सय थान डिकोडर नेपाल पठाएकोमा आवश्यक प्रक्रिया नपुगेको भन्दै भन्सार कार्यालयले होल्ड गरेको थियो । अरु च्यानल उत्पादकहरुसँग नेपाली अपरेटरहरुले सर्भर खरिद गरेर ल्याए पनि स्टारले भने निःशुल्क रूपमा सिंगापुरबाट नेपाल पठाएको हो ।

सबै प्रक्रिया पुर्याएर, आवश्यक दस्तुर र सम्बन्धित निकायबाट सामानको प्रयोजन खुल्ने चिठ्ठी पाएपछि मात्रै भन्सार कार्यालयले मंसिर ३० गते सर्भर लिंकेज डिभाइस रिलिज गरेको थियो ।

सूचना तथा सञ्चार प्रविधि मन्त्रालय, वाणिज्य विभाग, भन्सार विभाग र नेपाल राष्ट्र बैंकबीच आवश्यक समन्वय नहुँदा विमानस्थल भन्सार कार्यालयमा उपकरणहरु होल्ड हुने परिस्थिति सिर्जना भएको सुबिसुका अध्यक्ष सुधीर पराजुलीले बताए ।

‘चारै वटा निकायले एकपटक संयुक्त छलफल गरेर निर्णय गरेको भए एयरपोर्टमा सामान लामो समय होल्ड हुने थिएन । प्रसारण रोकिएका स्टारका च्यानलहरु दर्शकले चाँडै हेर्न पाउने थिए,’ पराजुलीको भनाइ छ ।

भन्सार विभागले विदेशबाट आएका सर्भर लिंकेज डिभाइस निःशुल्क रूपमा आएको प्रमाण पेश गर्न अपरेटरहरुलाई आग्रह गरेको डिसहोमका प्रबन्ध निर्देशक सुदीप आचार्यले बताए । स्टारले पठाएको सर्भरका लागि कुनै पनि प्रकारको भुक्तानी वा विदेशी मुद्राको कारोबार नभएको बारे सुरुमा राष्ट्र बैंकलाई जानकारी गराएर सामान झिकाउने अनुमति लिएको आचार्यको भनाइ छ ।

त्यसपछि सूचना तथा सञ्चार प्रविधि मन्त्रालयबाट विमानस्थल भन्सारमा रोकिएका डिकोडर क्लिनफिड कार्यान्वयनका लागि आवश्यक पर्ने उपकरण भएको भन्दै भन्सार दस्तुर तिर्ने सर्तसहित अपरेटरहरु वाणिज्य विभाग पुगेको उनले बताए ।

सामान आयातको प्रयोजन, मन्त्रालय र राष्ट्रबैंकले थमाएको पत्र वाणिज्य विभागलाई बुझाएको आचार्यले सुनाए ।

वाणिज्य विभागलाई नेपाली केबल तथा सेटलाइट अपरेटरहरुले आफूहरुले खरिद नगरेको र स्टार नेटवर्कले निःशुल्क रूपमा नेपालमा आफ्ना रोकिएका च्यानलहरु विज्ञापनरहित प्रसारण गर्न पठाएको जानकारीसहित विभागले भन्सारसँग समन्वय गरेपछि मात्रै सामान छुट्ने अवस्था आएको आचार्यले बताए ।

स्टार नेटवर्कबाहेक अन्य च्यानलहरुको उपकरण भने सहज रूपमा नै नेपाल भित्रिएको नेपाल केबल टेलिभिजन महासंघका अध्यक्ष ध्रुव शर्माले जानकारी दिए ।

स्टार नेटवर्कले पछि फिर्ता लैजान सक्नेगरी अहिलेलाई भने निःशुल्क रूपमा सर्भर उपकरण नेपाल पठाएको शर्माले बताए । निःशुल्क आएका सामाग्रीहरुबारे वाणिज्य विभागको सिफारिसको पत्र ल्याए सामान होल्ड गर्नुपर्ने अवस्था नरहेको त्रिभुवन विमानस्थल भन्सार कार्यालयका एक कर्मचारीले भने ।

प्रक्रिया पुर्याउँदा समय लाग्नेबाहेकका अन्य कुनै प्रकारको होल्ड नगरिएको उनले प्रष्टीकरण दिए । स्टार नेटवर्कका डिभाइस मंसिर ३० गते मात्रै भन्सारबाट छुटेपछि नेपाली केबल तथा सेटलाइट च्यानल अपरेटरहरुले बिहीबार जडान गरी च्यानलहरु प्रसारण गर्दै लगेका छन् ।

डिकोडरहरू च्यानल प्रसारकको केन्द्रीय सर्भरसँग लिंक हुन्छन् । नेटवर्कहरूले आआफ्ना च्यानलका सिग्नल केबल अपरेटरलाई उनीहरूले तिरेको शुल्कका आधारमा अवधि तोकेर निश्चित भिजुअल क्वालिटीसहित उपलब्ध गराउँछन् । सम्बद्ध नेटवर्कको डिकोडरले सिग्नल पाउन प्रसारकको मुख्य सर्भरलाई लिंक गर्छ ।

यस्ता डिभाइस केबल अपरेटरलाई उपलब्ध गराउँदा कम्पनीहरूले कन्ट्रोल सिस्टम आफ्नो स्टेसनबाट नियन्त्रण गर्न सक्छन् । कहिलेकाही हामीले हेरिरहेका च्यानलको प्रसारण अचानक रोकिनु र शुल्क नतिरेकाले रोकियो भन्ने सूचना देखिनुको कारण केबल अपरेटरले शुल्क नबुझाएका वा नवीकरण नगरेका कारण प्रसारकले सिग्नल डिकोटरमा पठाउन रोक्दा आउने हुन् ।