पुष ४, काठमाडौं ।
नेपाल–भारत उद्योग वाणिज्य संघको प्रतिनिधि मण्डलले लगानी बोडका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टसँग भेटघाट गरेको छ ।
उनीहरुले हाल पछिल्ला बर्षहरुमा भारतबाट नेपाल भित्रिने लगानी क्रमशः घट्दो क्रममा रहेको सम्बन्धमा ध्यानाकर्षण गराए । संघका उपाध्यक्ष सुनिल केसीले आगामी दिनहरुमा भारतबाट लगानी भित्र्याउन लागि संघले ‘नेपाल–ईण्डिया पार्टनरशीप समिट’ आयोजना गर्ने योजना रहेको र त्यसमा बोर्डलाई प्रमुख साझेदार बन्न आग्रह गरे ।
उनले भारतको दिल्लीमा ‘नेपाल ईनोभेसन सेन्टर’को स्थापना गर्ने योजना रहेको बताउँदै त्यसबाट नेपालमा लगानी गर्न चाहने भारतीय लगानीकर्ताहरुको लागि सहजीकरण हुने बताए । संघले बोर्ड भारतीय राजदूतावास समेतलाई समाबेश गरी त्रिपक्षीय सम्झौता गरी नेपालमा भारतीय लगानी भित्र्याउने कार्यलाई प्रभावकारी रुपमा अगाडि बढाउने योजना रहेको केसीले जानकारी दिए ।
संघका उपाध्यक्ष सैवाल घोषले नेपालमा विदेशी लगानी आकर्षित गर्न यहाँ भएका विदेशी लगानीमा सञ्चालित उद्योगहरुका समस्याहरुको उचित सम्बोधन गर्नुपर्ने बताए ।
विगत लामो समय झण्डै १० बर्ष देखि सम्बोधन नभएको बौद्धिक सम्पत्ति अधिकार सम्बन्धि समस्याका साथै ब्राण्ड रजिष्टरका समस्या, टेष्ट मार्केटिड्डको अनुमति प्राप्तिमा ढिलाई लगायत कन्ट्रयाक्ट म्यानुफ्याक्चरिङ खुल्ला गरिनुपर्ने उनले बताए । उनले बिदेशी कम्पनीसँग लिएको सेवावापतको भुक्तानीका बिषयमा १ लाख सम्मको भुक्तानीमा बैंक मार्फत गर्न सकिने प्रावधान परिर्वतन गर्नुपर्ने बताए ।
संघका कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले अव नेपाल–भारत आर्थिक सम्बन्धलाई पुनर्विचार गर्नुपर्ने बताउँदै तुलनात्मक लाभको हिसावमा पर्यटन र जलबिद्युतलाई अगाडि बढाउनुपर्ने बताए ।
भारतमा ६–७ बर्षपछि जलबिद्युतको ठूलो माग रहने बताउँदै अहिले जलबिद्युत परियोजनाहरुलाई सुचारु रुपमा बिना अवरोध अघि बढ्न दिएमा नेपालबाट भारतमा बिजुली उच्च मूल्यमा निर्यात गर्न सकिने प्रधानले बताए । बोर्डका सिइओ भट्टले नेपालमा भारतीय लगानी भित्र्याउने सम्बन्धमा लगानी बोर्ड अत्यन्त चिन्तनशील रहेको बताए ।







