पुस,०४ भरतपुर । मुग्लिन–नारायणगढ सडकखण्डमा सडक पुलको कामले तीव्रता पाएको छ । मुग्लिन सडक आयोजनाका अनुसार १५ वटा पुल बनाउने काम थालिएको छ । कुल १९ वटा पुलमध्ये यसअघि ३ वटा पुलको काम सम्पन्न भइसकेको छ भने जलविरेमा काम आधा बढी सकिएको आयोजनाले जनाएको छ ।
०७४ कात्तिकमा ४ वटा पुल निर्माणका लागि दुईवटा ठेक्का कम्पनीले सम्झौता गरेका थिए, जसमा तीनवटा पुलमात्रै निर्माण सम्पन्न भएका छन् । जलविरे पुल अझै सम्पन्न भएको छैन । पुल निर्माणको जिम्मा पाउनेमा पनि यसै आयोजनामा काम गरिरहेका नेपाली ठेकेदार कम्पनी हुन् ।
अबको ३३ महिनामा यस आयोजनाअन्तर्गतका सबै पुलहरु सम्पन्न हुने आयोजनाकी इन्जिनियर सविना रानाभाटले बताइन् । अब बन्ने पुलको चौडाइ झन्डै दोब्बर फराकिलो हुने आयोजनाले जनाएको छ । हाल एउटा पुल ६ मिटरको र अरु पुल ७.५ मिटर फराकिलो रहेको छ । अब बन्ने पुलको चौडाइ ११ मिटरको रहने इन्जिनियर रानाभाटले बताइन् । तुइन खोलामा भने भौगोलिक कठिनाइका कारण जम्मा ९ मिटर फराकिलो मात्र सडक बन्ने उनले बताइन् ।
व्यस्त सडकमा साँघुरो पुलका कारण यातायात आवागमनमा समस्या भएपछि सरकारले समस्यायुक्त पुलहरु भत्काई दुई लेनको पुल बनाउन सडक विभागलाई ०७६ साउनमा स्वीकृति दिएको हो ।
‘नारायणगढ–मुग्लिन सडकमा पर्ने इन्टरमिडियट लेनका पुलहरुलाई डबल लेनमा निर्माण गर्न अत्यावश्यक भएकाले सार्वजनिक खरिद नियमावली–२०६४ बमोजिम वातावरणीय अध्ययनसमेत गरी डिजाइन तथा निर्माणको काम ठेक्काबाट गर्न बोलपत्र आह्वानका लागि स्वीकृति दिएको छ’– मन्त्रिपरिषद्को निर्णयमा उल्लेख छ । वातावरणीय अध्ययन, डिजाइन र निर्माणका सबै काम ठेक्काबाट गर्न अनुमति दिइएको छ । सुरूमा १४ वटामात्रै पुल बनाउने भनिए पनि विभागले सडकलाई सीधा गरेर बाटो सच्याउने गरी गाईघाटमा एउटा नयाँ पुल पनि बनाउने योजना तयार पारेपछि पुलको संख्या १५ पुगेको हो । जलविरे पुल ८० मिटर लामो छ भने मौरीपुल ३० मिटर, खानीपुल ३० मिटर र दासढुङ्गा पुल २० मिटर लम्बाइका छन् । हाल सिङ्गल लेन रहेको पुलको चौडाइ भने ११ मिटर हुनेछ ।
मुग्लिन–नारायणगढ खण्डमा पुल निर्माण धमाधम सुरु







