पुष, ७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पहिलो अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा गरेको बैठक गुटको भेला मात्र भएको बताएका छन् ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड माधव समूहका केन्द्रीय सदस्यहरुको भेलालाई सम्बोधन गर्दै नेता नेपालले पार्टीका ४४१ केन्द्रीय सदस्यको दुई तिहाई एक ठाउँमा भएकाले कसैले धावा बोल्दैमा बैधानिकता पाउन नसक्ने दाबी गरे ।
नेपालले अब नेकपा एमाले ब्यूँतन नसक्नेसमेत बताएका छन् । उनले भने, ‘कसैले पार्टीको नाममा धावा बोल्दैमा बैधानिकता पाउँदैन । ४४१ केन्द्रीय सदस्यको दुई तिहाई हामी यहाँ छौं ।
केही दिन यता नेकपा एमाले ब्यूँताउने हल्लाहरु चलेको भन्दै उनले त्यो सम्भव नरहेको बताए । ‘सुन्दैछु, नेकपा एमाले ब्यूँताउने रे । पार्टी एकता हुँदा नै दुबै पार्टी विघटन भइसक्यो । त्यो अब ब्यूँतन सक्दैन’ उनले भने ।
पहिलो अध्यक्ष भएको नाताले मैले भनेको मात्र लाग्छ, निर्वाचन आयोगमा पनि चुनाव चिन्ह मेरो हुन्छ भन्ने सुनेको भन्दै उनले त्यसको कुनै कानूनी आधार नभएको दाबी गरे ।







