पुस,९ बुटवल । श्रम बजार सूचना प्रणाली विकास ‘इलम्स’ परियोजनाको विहीवार बुटवलमा सुभारम्भ गरिएको छ । सो परियोजनाको एक समारोहका बीच लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ यादवले सुभारम्भ गरे ।
सो अवसरमा बोल्दै प्रदेश प्रमुख यादवले उपलब्ध जनशक्तिको प्रयोग र सहि परिचालनका लागि सुरु गरिएको परियोजनाले नेपालको औद्योगिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले कुनै पनि क्षेत्रको विकास सहि सूचना र तथ्याङ्क विना हुन सक्ने उल्लेख गर्दै सिपको क्षमता र मागलाई व्यवस्थित गर्न नीति क्षेत्रको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । उनले परियोजनाको सफलताले औद्योगिक क्षेत्रमा श्रमको अभावलाई पूर्ति गर्ने र दक्ष जनशक्तिको उत्पादन स्वदेशमै हुने ग्यारेन्टी दिने बताए । प्रमुख यादवले पारियोजनाको सफलताबाट हाम्रो श्रम बजारमा रहेको वैदेशिक निर्भरतालाई कमी गर्न सफलता मिल्ने उल्लेख गरे ।
कार्यक्रमका अध्यक्ष एवं नेपाल उद्योग परिसंघ (सिआइएन) का अध्यक्ष सतिस कुमार मोरले मुलुकभित्र औद्योगिक व्यवसायिक क्षेत्रले श्रम बजार सम्बन्धी आवश्यक तथ्याङ्क एवम् जानकारीको अभावमा भोग्नु परेको समस्यालाई परियोजनाले सम्बोधन गर्ने विश्वास व्यक्त गरे । उनले मुलुकको औद्योगिक विकासमा सहयोग पुर्याउने, श्रम बजार सम्बन्धी सूचना प्रणालीलाई व्यवस्थित र भरपर्दो बनाउने, उद्योग प्रतिष्ठानहरूको लागि आवश्यक दक्ष जनशक्ति उपलब्ध गराउन प्रत्याभुति दिलाउने, रोजगारी सृजना गर्ने, श्रम बजार सम्बन्धी तथ्याङ्क प्रणालीको विकास गर्ने कार्यमा परियोजना एक कोशेढुंगा सावित हुने बताए ।
अध्यक्ष मोरले श्रम बजारमा माग र आपूर्तिको व्यवस्थापनमा ठूलो सहयोग गरी समग्रमा मुलुकको औद्योगिक विकासमा सघाउ पुर्याउने बताउदै परियोजनाबाट श्रम बजारसँग सम्बन्धित सरकारको नीति निर्माण एवं कार्यक्रममा सघाउ पुग्नुको साथै उद्योग व्यवसाय क्षेत्रका लागि आवश्यक दक्ष जनशक्ति उत्पादनमा समेत मद्दत गर्ने धारणा व्यक्त गरे ।
कार्यक्रममा प्रदेश योजना आयोजका उपाध्यक्ष डा. इश्वर गौतम, उद्योग पर्यटन, वन तथा बातावरण मन्त्रालयका सचिव डा. राजेन्द्र केसी, भौतिक पूर्वाधार मन्त्रालयका सचिव सुसिलचन्द्र तिवारी, कृषि तथा भूमि व्यवस्था मन्त्रालयका सचिव रेवतीरमण पौडेल, नेपाल उद्योग परिसंघका उपाध्यक्ष विरेन्द्र राज पाण्डे, परिसंघका लुम्बिनी प्रदेश संयोजक एजाज आलम, रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम वोहोरा, होटल महासंघका माधव नेपाल, निमार्ण व्यवसायी महासंघका टोपबहादुर रायमाझी, उद्योग वाणिज्य महासंघका यज्ञ भट्टराई लगायतले बोल्नु बोलेका थिए । कार्यक्रममा परियोजनाका बारेमा परियोजना संयोजक चन्द्रकान्त अधिकारीले जानकारी गराए भने नेपाल उद्योग परिसंघका महानिर्देशक यादव प्रसाद पौडेलले कार्यक्रमको सञ्चालन गरेका थिए ।







