आइपिएलमा क्रिकेटमा दुई नयाँ टिम थपिने,प्रतियोगिताको फर्म्याट यस्तो हुने

भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसिआई) ले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दुई नयाँ टिम थप्ने निर्णय गरेको छ।

बिहीबार अहमदाबादमा बसेको बिसिसिआईको साधारण सभाले सन् २०२२ को आइपिएलदेखि १० टिमबीच प्रतिस्पर्धा गराउने निर्णय गरेको हो। चार महिनापछि हुने सन् २०२१ को आइपिएलमा भने गत संस्करण झैं ८ टिमबीच नै प्रतिस्पर्धा हुनेछ। थप गर्ने दुई वटा नयाँ टिमको विषयमा आइपिएलको गभर्निङ काउन्सिलले निर्णय गर्नेछ। नयाँ टिम थप्नुअघि काउन्सिलले थप गर्नु पर्ने शहर र लगानी गर्ने कम्पनीको विषयमा अध्ययन गर्ने बताइएको छ।

यस्तै काउन्सिलले नयाँ टिम थप्नका लागि अपनाइने प्रणालीको विषयमा पनि निर्णय गर्नेछ। आइपिएलमा १० टिम भएपछि प्रतियोगिताको फर्म्याट पनि परिवर्तन हुने बताइएको छ। प्रतियोगिताको फर्म्याटको विषयमा निर्णय गर्न पनि आइपिएलको गभर्निङ काउन्सिललाई जिम्मा दिइएको छ। बिसिसिआईका अध्यक्ष सौरभ गांगुलीले आइपिएलको संरचना ठूलो पर्ने साधारण सभामा बताएका थिए।

उनले आइपिएलले धेरै भन्दा धेरै खेलाडीलाई अवसर दिनु पर्ने भएकाले टिम थप गर्नु उचित हुने धारणा राखेका थिए। गांगुलीले भारतका मात्र नभएर विश्वभरका खेलाडीलाई आइपिएलमा अवसर दिनका लागि आइपिएल नक्सामा नयाँ शहर थप्नु पर्नेमा जोड दिएका थिए।