पुस,११ काठमाडौं। जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले मन्त्रिपरिषद् विस्तारको विषयलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेका छन्।
सामाजिक सञ्जालमार्फत डा. भट्टराईले प्रश्न गरे सडकबाट मान्छे टिपेर मन्त्रिपरिषद् विस्तार गर्ने कहाँको विधि र परम्परा हो ?’ ‘आफैँ असंवैधानिक ढंगले संसद् विघटन र चुनावको घोषणा गर्ने अनि सडकबाट मान्छे टिपेर मन्त्रीमण्डल विस्तार र पुनर्गठन गर्ने,’ डा. भट्टराईले प्रश्न गरेका छन्, ‘यो कहाँको विधि र परम्परा हो ?’
प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयको विरोध गर्दै सात जना मन्त्रीले सामूहिक राजीनामा दिएका थिए। उनले शुक्रवार खालि रहेको मन्त्रिपरिषद्लाई विस्तार गरेका थिए।
प्रतिनिधिसभा विघटनको कदमलाई लिएर ओलीको चौतर्फी विरोध भइरहेको छ। संविधानले नदिएको अधिकार प्रयोग गरेर प्रतिनिधिसभा विघटन गरेर ओलीले संविधानमाथि खेलबाड गरेको आरोप छ।
डा. भट्टराईले अगाडि लेखेका छन्, ‘सत्ता अकंटक चलाउने ध्येय स्पष्ट भएन र ? ज्ञानेन्द्रले गरेको यै हैन र ? संविधान/लोकतन्त्रमाथि यस्तो खेलबाड हुँदा चुप बस्ने हामी कि ओली मूर्ख ?’







