काठमाडौं । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल पाथीभरा मन्दिरमा कात्तिक महिनामा ६४ हजारभन्दा बढी भक्तजनले दर्शन गरेका छन् ।
पाथीभरा क्षेत्र विकास समितिका अनुसार कात्तिक महिनाभरि ६४ हजार १०६ जना तीर्थयात्रीले मन्दिरमा पुगेर पूजाआजा गरेका हुन् ।
शनिबार मात्रै ११ हजार २७२ जना भक्तजनले पाथीभराको दर्शन गरेका थिए । समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार पछिल्लो तीन वर्षयता एकै दिन मन्दिर दर्शन गर्ने भक्तजनको यो सबैभन्दा ठूलो सङ्ख्या हो ।
यसअघि कात्तिक १७ गते पनि १० हजार ६१६ जना भक्तजनले पाथीभराको दर्शन गरेका थिए । चालु आर्थिक वर्षका अन्य महिनाको तुलनामा कात्तिकमा सबैभन्दा धेरै दर्शनार्थी पाथीभरा पुगेका हुन् ।
समितिका अनुसार असोजमा ११ हजार ९३०, भदौमा ६ हजार १२३ र साउनमा दुई हजार ४६९ जनाले मन्दिरको दर्शन गरेका थिए ।
पाथीभरा देवीको दर्शन गरे मनोकामना पूरा हुने धार्मिक विश्वासका कारण यहाँ हरेक वर्ष स्वदेश तथा विदेशबाट तीन लाखभन्दा बढी भक्तजन पुग्ने गरेका छन् ।





