नेकपा बिवाद : प्रदेश १का मुख्यमन्त्रीले अर्थमन्त्रीलाई बर्खास्त गरेको भोलीपल्ट (आज) तीन मन्त्रीले दिए राजीनामा

मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारीमा प्रचण्ड–नेपाल समूह

पुष, १२ विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आनौपचारीक विभाजन भएको बेला प्रदेश १का तीन मन्त्रीले राजीनामा दिएका छन् ।

आज सामाजीक विकास मन्त्री जिवन घिमिरे, समाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग पर्यटन वन तथा बातावरण राज्यमन्त्री विजय कुमार विश्वासले राजिनामा दिएका छन् ।

यस अघि प्रदेश १ का मुख्यमन्त्रीले आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोलाई हिजो पदमुक्त गराएका थिए ।

आङ्बोलाई बर्खास्त गरेको भोलीपल्ट तीन मन्त्रीले राजीनामा दिएको आङ्बोले फेसबुकमा पोष्ट गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसँगै त्यसको प्रत्यक्ष असर प्रदेशमा समेत परेको छ ।

यसअघि बागमती प्रदेशका मुख्खमन्त्री डोरमणी पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दै तीन मन्त्रीहरुले राजिनामा दिइसकेका छन् ।

प्रदेश १ मा केपी ओली पक्षका मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी प्रचण्ड–माधव पक्षका नेताहरुले गरिरहेका छन् ।

पार्टी विभाजनसँगै मुख्यमन्त्री शेरधन राईले संसदीय दलभित्रको बहुमत गुमाएका छन् । यसअघि माधव नेपाल पक्षले साथ दिएका कारण भीम आचार्यलाई हराएर शेरधन राई संसदीय दलको नेता अनि मुख्यमन्त्री बनेका थिए । माधव नेपाल पक्षको साथ नपाएको भए ओली पक्षले प्रदेश १ मा मुख्यमन्त्री पाउने सम्भावना यसअघि पनि थिएन ।