पुस, १७ काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आधिकारिकता सम्बन्धी प्रधानमन्त्री केपी शर्मा ओलीले भनेजस्तो प्रचण्ड–नेपालको निवेदन फिर्ता नभएको प्रष्टीकरण दिएको छ ।
निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठ, सहायक प्रवक्ता कोमल प्रसाद धमला, आयोगका कानुन शाखाका प्रमुख एवं उपसचिव गंगा खरेलले प्रधानमन्त्री ओलीले भने जस्तो नेकपाको आधिकारिता दावी सम्बन्धी प्रचण्ड–नेपाल पक्षको निवेदन फिर्ता नभएको बताएका हुन् ।
प्रवासी नेपाली मन्चका कार्यकर्तालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेकपाको आधिकारिकता दावी गर्दै प्रचण्ड–माधव नेपाल पक्षले दिएको निवेदन निर्वाचन आयोगले फिर्ता पठाएको दावी गरेका थिए । उनले भनेका थिए, ‘उहाँहरु सूर्य चिन्ह पाउँ भनेर निर्वाचन आयोगमा जानुभएको थियो,आयोगले निवेदनको रित नपेगेको,कानुन उल्लेख नभएको,प्रमाण नभएको भनेर यसको अर्थ छैन भनेर फिर्ता पठाएको छ हिजो ।’
तर, प्रधानमन्त्रीको यो भनाई राजनीतिक मात्रै भएको हुन सक्ने निर्वाचनका अधिकारीहरु बताउँछन् ।
‘निवेदन आएपछि दर्ता हुन्छ । त्यसपछाडि हेर्ने भन्ने पछाडि हो । फिर्ता गर्ने हुँदैन, मैले आयुक्तहरुसंग पनि सोधिसकेँ प्रचण्ड–नेपाल पक्षको निवेदन फिर्ता भएको छैन’ आयोगका साहायक प्रवक्ता धमलाले धमलाले अगाडि भने, ‘प्रधानमन्त्रीको कुरा राजनीतिक कुरा होला । आएको कागज फिर्ता गर्ने भन्ने हुन्न ।’
नेकपाको आधिकारिकता दावी गर्दै ओली समूह र प्रचण्ड–माधव नेपाल पक्षले छुट्टाछुट्टै निवेदन निर्वाचन आयोगमा पठाएका छन् ।
दुबै पक्षले आफुहरु आधिकारिक रहेको दाबी गरिरहेका छन् । यहि बेला प्रधानमन्त्री ओलीले अर्को पक्षको निवेदन निर्वाचन आयोगले फिर्ता पठाएको भनेर सार्वजनिक अभिव्यक्ति दिएका हुन् ।







