पुस, १७ काठमाडौं । निर्वाचन आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आधिकारिकता सम्बन्धी विवादलाई लिएर आयोगलाई अनावश्यक टर्चर दिन खोजेको गूनासो गरेको छ ।
आयोग स्रोतका अनुसार शुक्रबार निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियासहित आयुक्तहरुको बैठक बसेको थियो । बैठक चलिरहेकै बेला नेकपाको आधिकारिकता सम्बन्धी प्रचण्ड–नेपाल समूहको निवेदन फिर्ता भएको हो ? भन्दै आयुक्तहरुलाई धेरैले फोन गरेर सोधनी गरेका थिए ।
‘त्यस्तो निर्णय नै भएको छैन् । प्रधानमन्त्रीले कता आफु निकटका को संग फिर्ता भयो भन्नुभयो भन्दै धेरैले फोन गर्नुभयो । हुँदै नभएको कुरा प्रधानमन्त्रीले भन्नुभएछ । उहाँलाई त्यो राजनीतिक कुरा लाग्ला, तर हामी काम गर्नेलाई अनावश्यक टर्चर भयो’ आयोगका एक जिम्मेवार अधिकारीले गूनासो गरे ।
शुक्रबार प्रवासी नेपाली मन्चका कार्यकर्तालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेकपाको आधिकारिकता दावी गर्दै प्रचण्ड–माधव नेपाल पक्षले दिएको निवेदन निर्वाचन आयोगले फिर्ता पठाएको दावी गरेका थिए ।
उनले भनेका थिए, ‘उहाँहरु सूर्य चिन्ह पाउँ भनेर निर्वाचन आयोगमा जानुभएको थियो,आयोगले निवेदनको रित नपेगेको,कानुन उल्लेख नभएको, प्रमाण नभएको भनेर यसको अर्थ छैन भनेर फिर्ता पठाएको छ हिजो ।’
प्रधानमन्त्रीको यो भनाईमा सत्यता नरहेको आयोगका अधिकारीहरुले प्रष्टीकरण दिएका छन् ।
‘निवेदन आएपछि दर्ता हुन्छ । त्यसपछाडि हेर्ने भन्ने पछाडि हो । फिर्ता गर्ने हुँदैन, मैले आयुक्तहरुसंग पनि सोधिसकेँ प्रचण्ड–नेपाल पक्षको निवेदन फिर्ता भएको छैन’ आयोगका साहायक प्रवक्ता कोमल प्रसाद धमलाले भने, ‘प्रधानमन्त्रीको कुरा राजनीतिक कुरा होला । तर, आएको कागज फिर्ता गर्ने भन्ने हुन्न ।’
नेकपाको आधिकारिकता दावी गर्दै ओली समूह र प्रचण्ड–माधव नेपाल समूहले निवेदन निर्वाचन आयोगमा पठाएका छन् ।
दुबै पक्षले आफुहरु आधिकारिक रहेको दाबी गरिरहेका छन् । यहि बेला प्रधानमन्त्री ओलीले अर्को पक्षको निवेदन निर्वाचन आयोगले फिर्ता पठाएको भनेर सार्वजनिक अभिव्यक्ति दिएका हुन् ।
बिहीबार निर्वाचन आयोगले सम्पर्क गर्नुपर्ने नेताहरुको नामावली बुझाएका कारण प्रधानमन्त्री झुक्किएको हुन सक्ने आयोगकै एक अधिकारीले आशंका गरे ।
आयोग स्रोतका अनुसार पार्टीको नाम, झन्डा, पदाधिकारीको नामावली फेरबदल भएको भए अपडेट गर्नका लागि प्रचण्ड–नेपाल पक्षलाई सूचना दिएर र त्यो प्राप्त गरेर पार्टी अध्यक्षबाट ओलीलाई हटाएर केन्द्रीय सदस्य कायम राख्दै माधवकुमार नेपाललाई अध्यक्ष चुनिएको भनेर अखिलेखीकरण गरिएको छ ।







