एकसाताअघि प्रचण्ड-नेपालको आन्दोलनमा सहभागी सांसद ओली समूहमा

पुस,१८ काठमाडौ ।एकसाताअघि नेकपा प्रचण्ड-नेपाल समूहको काठमाडौं माइतीघरमा भएको धर्ना र आन्दोलनमा सहभागी रुपन्देहीका एकजना प्रदेश सांसद दधिराम शर्मा न्यौपाने प्रधानमन्त्री केपी ओली नेतृत्वको नेकपामा खुलेर लागेका छन्।

त्यसपछि लुम्बिनी प्रदेश सरकारको समीकरणमा ओली समूहलाई सरकार टिकाइराख्न केही सांसद आवश्यक देखिएकै समयमा उनी ओली समूहको पक्षमा देखिएका हुन्। 

उनीसँगै रुपन्देहीमै प्रदेश सभा सदस्यका उमेदवार अनुप बराल पनि ओली पक्षमा गएका छन्। उनी पनि केहीदिनअघिसम्म प्रचण्ड-नेपाल समूहको आन्दोलनमा सहभागी थिए।

प्रदेशको अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति समेत रहेका न्यौपानेले आफू सरकार पक्षतिर रहेको बताए।  
‘अहिलेसम्म पार्टी एउटै छ, पार्टी विभाजन भएको छैन, आन्दोलनलाई समर्थन गर्ने कि सरकारलाई गर्ने भन्ने हो, मैले अहिले सरकारलाई समर्थन गरेँ, अरु जिल्लास्तरमा साथीहरु पनि मसँगै सरकारको समर्थनमा जानु भयो’-उनले भने। 

लुम्बिनी प्रदेशमा अहिलेसम्म जोखिममा रहेको शंकर पोखरेल नेतृत्वको सरकारले पूर्वमाओवादीका सांसदहरुलाई आफ्नो पक्षमा आउनका लागि छलफललाई तीब्र बनाएको छ।

८७ सांसदमध्ये नेकपाको पक्षमा ६१ सांसद रहेकोमा पूर्वएमालेका ४१ र पूर्व माओवादीका २० सांसद छन्। जसमध्ये न्यौपाने ओलीसमूहमा गएपछि ओलीसमूहले आफ्नो पक्षमा ४१ सांसद रहेको र अरु केही सांसदहरु पनि पक्षमै आउने दाबी गर्दै आएको छ। 

नेकपा सचेतक भूमिश्वर ढकाल सरकारको पक्षमा बहुमत रहने र सरकार नढल्ने बताउँछन्। उनले अरु केही सांसदहरु पनि सरकारकै पक्षमा रहने बताए। 

तर पूर्वएमालेका केही सांसदहरु प्रचण्ड-नेपाल पक्षमै छन्। १ जना सांसद खुलेर प्रचण्ड-नेपाल पक्षमा लागेपनि अरु भने खुलेका छैनन्। जसले सरकारका पक्षमा पूर्वएमालेका ४१ मध्ये ४० र १ जना पूर्वमाओवादीका सांसदले समर्थन गर्दा ४१ जना सांसद पक्षमा रहन्छन्। पोखरेलको सरकार टिकाइराख्न लुम्बिनी प्रदेशमा ४४ सांसद आवश्यक छ।