पुस ,२९ काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी शर्मा ओली समूहलले आगामी बैशाख १७ र २७ गते तोकिएको प्रतिनिधि सभाको चुनावको काम नरोक्न आग्रह गरेको छ ।
ओली समूहका नेता सुवास नेम्वाङ सहितको टोलीले बुधवार आयोगका पदाधिकराीलाई भेटेर चुनाव तोकिएकै समयमा सम्पन्न गर्ने प्रक्रिया अघि बढाउन आग्रह गरेको हो ।
निर्वाचन आयोगले पार्टीको आधिकारिकताका सन्दर्भमा पठाएको पत्रको लिखित जवाफ बोकेर आयोग पुगेका नेताहरुले पार्टी अध्यक्ष ओली र महासचिव बिष्णु पौडेल रहेको पार्टीनै आधिकारिक भएकाले अन्यौलमा नरहन आग्रह गरेका छन् ।
नेम्वाङले भने–हामीले आफ्नो जवाफ दिएका छौं र पार्टीको आधिकारिकता केपी ओली रहेको ठाउँमै हुन्छ यसमा कुनै समस्या छैन । बरु हामीले निर्वाचनको तयारी तीब्रताका साथ अघि बढाउन आयोगलाई आग्रह गरेका छौं ।
प्रचण्ड र माधव नेपाल आफैं गएर आयोगलाई चुनाव सम्बन्धी कुनै पनि प्रक्रिया अघि नबढाउन आग्रह गरेपछि ओली पक्षले चुनावी तयारी तदारुकतासाथ लैजान आग्रह गरेको हो ।
सर्वोच्च अदालतले अन्तरिम आदेश नदिएको र चुनावको तयारी रोक्न नभनेकाले आयोग कानुन बमोजिम चल्ने नेम्वाङले बताए । आयोगले कानुन बमोजिम नै आयोगले निर्वाचनका कामहरु अघि बढाइरहेको जानकारी दिएका थिए ।
प्रचण्ड माधव पक्षले सर्वोच्चअदालतमा मुद्दा लम्ब्याउने र निर्वाचन आयोगलाई चुनावको कार्यक्रम रोक्न दबाब दिने तिकडम अपनाएर देशलाई संवैधानिक संकटतर्फ लैजान खोजेको आरोप अोली पक्षले लगाएको छ ।







