प्रचण्ड र माधवलाई कार्यकर्ताको प्रश्न– तपाईंहरु पद र प्रतिष्ठाकै लागि लडेको हो त ?

पुस,२९ काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी शर्मा ओली समूहले अर्को पक्ष प्रचण्ड–माधव समूहलाई लगाउँदै आएको एउटा मुख्य आरोप हो– पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल लगायतका नेताहरुले पद र प्रतिष्ठा मात्रै खोजे । पद र प्रतिष्ठा नपाएकै कारण ओली समूहलाई काम गर्न दिइएन ।

प्रचण्ड–माधव समूहका कार्यकर्ताले ओली समूहले लगाएको यस्तो आरोप के हो ? कति सत्ययता छ ? भनेर उनै पुष्पकमल दाहाल र माधव नेपाललाई सोधेका छन् ।

प्रचण्ड–माधव समूहले बुधबार काठमाडौंमा कार्यकर्ता भेलाको आयोजना गरेको थियो । भेलामा बोल्ने काठमाडौंका जिल्ला स्तरका नेताहरुले नेतृत्वसमक्ष ओली समूहले लगाएका आरोपहरुको प्रष्टीकरण खोजेका हुन् ।

काठमाडौं जिल्ला कमिटीका कार्यालय सदस्य महेश्वर फुयालले भने, ‘ओली कम्पनीले हाम्रा नेताहरुले पद प्राप्तीको लागि विग्रह गरेको भनिरहेको छ । यो के हो ? हाम्रो नतृत्व के लागि अगाडि बढिरहेको छ ? पद र प्रतिस्ठाकै लागि लडेको हो त ? पद र प्रतिस्ठाकै लागि अगाडि बढिरहेको छ कि, समाजवादी क्रान्तीलाई अगाडि बढाउन खोजिरहको छ यो प्रष्ट पारिदिनुहुनेछ ।’

नेकपाको केन्द्रीय सदस्य एवं काठमाडौंका जिल्लाका सहइन्चार्ज सुरेन्द्र मानन्धरले पनि प्रचण्ड र माधव नेपालमाथि ओली समूहले लगाएको आरोपहरुको प्रष्टीकरण माग गरे । र अहिलेको आन्दोलन, केपी ओलीको प्रतिस्थापन प्रचण्ड र माधव नेपालका लागि मात्रै हुन हुँदैन भन्ने काठमाडौंका कार्यकर्ताहरुमा रहेको सुनाए ।

‘अहिलेको आवश्यकता केपी ओलीलाई प्रतिस्थापन गर्दै कुनै पिके (पुष्पकमल दाहाल) वा कुनै एमके (माधव नेपाल)को लागि मात्रै यो आन्दोलन हुन हुँदैन भन्ने काठमाडौंका कार्यकर्ताहरु त्यो महसुस गरिरहेका छन्’ मानन्धरले भने ।

उनले प्रचण्ड र माधव नेपाललाई देशको समृद्धि र सुन्दर भविष्यको लागि कम्युनिस्ट पार्टी कसरी निर्माण गछौं ? भन्ने स्पष्ट गर्न आग्रह गर्दै अगाडि थपे, ‘एक थान राष्ट्रपतिको लागि, एक थान प्रधानमन्त्रीको लागि, केही थान मन्त्रीहरुको लागि, एक थान सभामुखको लागि, केही थान मुख्यमन्त्रीहरुको लागि, केही थान सांसदहरुको लागि, केही थान मेयरहरुको लागि, केही थान उपमेयरहरुको लागि, केही थान वडाअध्यक्षहरुको लागि मात्रै पार्टी बनाउँदा त खासै अगाडि बढ्न नसक्ने रहेछौं । खासै हामी ठाउँमा पुग्न नसक्ने रहेछौं भन्ने आजसम्म हामीले सिकाइसकेका रहेछौं ।’

प्रचण्ड र नेपाललाई विगतमा गरिएका गल्तिको समिक्षा गर्दै अगाडि बढ्न सुझाव दिँदै नेता मानन्धरले मदन भण्डारीलाई सम्झिए ।

‘मदन कमरेडले जनताको बहुदलीय जनवाद (जबज) अगाडि बढाउने सन्र्दभमा भन्नुभएको थियो– सुंगुरको त्यो फोहोर सफा गर्न हामी हिडेका हौं । तर, त्यो सफा गर्न हिडेको मान्छे समय समयमा आफैँ नुहाउनुपर्छ । तर, अहिलेको पार्टी नेतृत्व (केपी ओली) सुंगुरको गोठ सफा गर्न गइरहेको अवस्थामा त्यो भन्दा फोहोर भएर त्यहि लतपतिएर बसेका छन् । कम्तिमा हाम्रा पुष्पकमल दाहाल, माधव नेपाल लगायतका नेताहरुले सुंगुरको फोहोर सफा गर्नुहुनेछ भन्ने विश्वास काठमाडौंबासीको छ’ नेता मानन्धरले भने ।

संसद पुर्नस्थापनाको विकल्प नरहेको भन्दै उनले संसद पुर्नस्थापना भइसकेपछि, निर्वाचन आयोगबाट नेकपाको आधिकारिता पाइसकेपछि पार्टीभित्र सुद्धिकरणको अभियान चलाउन आवश्यक रहेको बताए । ‘पार्टीभित्र सुद्धिकरणको अभियान कमजोर भयो भने यो पंक्ति दुखित हुनेछ’ उनले भने ।

प्रचण्ड–नेपाल समूहको बागमती प्रदेश ईञ्चार्ज अष्टलक्ष्मी शाक्यले कार्यकर्ताले नेतृत्वसमक्ष आफुहरुलाई नर्बिसन भन्ने गरेको सुनाइन् ।

‘अब पाठ सिकेर जानुपर्छ । हामी त काम बिहिन, जिम्मेवारी बिहिन मान्छेहरु भनेर मलाई वडातहसम्मको भेलामा जाँदा मलाई भन्नुभएको छ । अब हामीलाई नबिर्सनुहोला भन्नुभएको छ । अब कम्युनिस्ट पार्टीले कामको मुल्याङ्कन, जिम्मेवारीको मुल्याङ्कन गर्नुपर्छ । यो मेरो मान्छे भनेर जाने भन्न हुँदैन ।’ शाक्यले भनिन् ।

काठमाडौं नतातेकोमा चिन्ता

प्रचण्ड–नेपाल समूहको बागमती प्रदेश ईञ्चार्ज शाक्यले ओलीविरुद्धको आन्दोलनमा काठमाडौंबासी नतातेको भनेर चिन्ता समेत व्यक्त गरिन् ।

‘म वडा भेलाहरुमा पनि पुगेँ । त्यहाँ पुग्दा यो काठमार्डां किन तातेन होला ! भनेर चिन्ता लागिराखेको थियो । धेरै नेता कार्यकर्ताहरुलाई राखिराखेको थियो । आज यो बृहत भेला देख्दा म साह्रै खुसी छु’ उनले भनिन्, ‘ काठमाडौंको चरित्र वा स्वभाव कि तात्दै तात्दैन तातेपछि सेलाउनै गाह्रो हुन्छ।’

अब भने ओली विरुद्धको आन्दोलनलाई निर्णायक तहमा पु¥याउन काठमाडौं तातिसकेको महसुस आफुले गरेको उनले सुनाइन् ।

काठमाडौंबासीले कहिले पनि निरंकुश र एकात्मक व्यवस्था नपचाएको, निरंकुशताको पक्षमा नउभिएको पनि उनको भनाई छ ।

‘ओलीको प्रतिगमनकारी कमदले देशले र कम्युनिष्ट आन्दोलनले केही धक्का खाएको छ । हामी आत्तिने र निराश हुनुपर्ने अवस्थामा छैन । हामी देशको नेतृत्व गर्ने ठाउँमा पुग्नेछौं र यो देशको नेतृत्व गर्नेछौं’ उनले भनिन् ।

प्रचण्ड–नेपाल समूहका केन्द्रीय सदस्य हिमाल शर्माले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले मिलेर देशलाई प्रतिगमनतिर लगेको गुनासो गरे ।

‘प्रधानमन्त्री राष्ट्रपतिज्यु मिल्नुभएको छ, मिलेर मदन भण्डारीको हत्यारा पत्ता लगाउनुभएको भए हुन्थ्यो होला, हामीले लालसलाम गर्थ्यौं होला, स्यालुट गर्थ्यौं होला । शर्माले भने, ‘तपाईंहरु त मिलेर देशलाई प्रतिगमनतर्फ धकेलिरहनुभएको छ ।’