मेलम्चीको ९९ प्रतिशत काम सम्पन्न, काठमाडौं आउन थप एक वर्ष लाग्ने

११ असार, काठमाडौं । मेलम्चीको पानी काठमाडौं आउन अझै एक वर्ष लाग्ने भएको छ । खानेपानी मन्त्रालयका सचिव माधव बेल्बासेका अनुसार मेलम्चीको पानी घरघरमा कहिले आइपुग्छ भनेर ठ्याक्कै भन्न सकिने अवस्था छैन । तथापि कम्तिमा एक कुर्नुपर्ने उनले बताए ।

विगतमा मिति तोक्दा तोकिएको समयमा काम पुरा नहुँदा ‘फेसबुकमा भाइरल’ बनाउने काम मात्रै भएको भन्दै उनले यसपटक मिति तोक्ने भन्दा छिटोभन्दा छिटो काम गर्नेतिर केन्द्रित भएको बताए ।

सरकारले बजेटमा साउनमै काठमाडौंमा पानी वितरण गर्ने बाचा गरेको कुरा सचिव बेल्वासले थाहा नै नपाएजस्तो गरे । ‘सकेसम्म एक वर्षभित्र बिच्छ्याएका पाइपबाट पानी वितरण गर्ने भन्ने छ’ उनले भने ।

सरकारले आगामी आर्थिक वर्ष २०७७ र ७८ को बजेटमा ‘मेलम्ची खानेपानी आयोजनाको आधारभूत पूर्वाधार निर्माण कार्य चालु आर्थिक वर्षभित्रै सम्पन्न गरी आगामी आर्थिक वर्षको शुरुदेखि उपत्यकामा खानेपानी वितरण गर्ने’ घोषणा गरेको थियो ।

संसदमा खानेपानी तथा सरसफाइमन्त्री विना मगरले पनि ‘मेलम्ची खानेपानीका सन्दर्भमा उठाइएका प्रश्नहरुको बिट मार्ने बेला आएको मेलम्चीको उदघाटनको समय सार्वजनिक गर्ने तयारीमा रहेको बताएकी थिइन् ।

बुधबार प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिमा मेलम्ची खानेपानी आयोजनाको प्रगतिबारे छलफल थियो । बैठकमा खानेपानीमन्त्री बिना मगर, मन्त्रालयका सचिव माधव बेल्बासे, खानेपानी आयोजना प्रमुख तिरेशप्रसाद खत्री लगायत सहभागी थिए ।

बैठकमा अधिकांश सांसदले सोधे, ‘मेलम्चीको पानी काठमाडौंमा कहिलेबाट वितरण हुन्छ ?’ भनेर सोधे । भाका राख्दै र सार्दै गर्ने गरिएको भन्दै सांसदहरुले ‘मेलम्चीको पानी ठ्याक्कै कुन दिन उपत्यकाबासीको घरघरमा पानी झर्छ’ भनेर जवाफ चाहिने बताए । जवाफमा मन्त्रालयका सचिव बेल्बासेले मेलम्चीको पानी काठमाडौं आउन अझै कम्तिमा एक वर्ष लाग्ने बताएका हुन् ।

९९ प्रतिशत काम सम्पन्न

मेलम्ची खानेपानी आयोजना प्रमुख तिरेश खत्रीले ९९ प्रतिशत काम सम्पन्न भएको बताए ।

आयोजनाको प्रगति विवरण प्रस्तुत गर्दै उनले भने, ‘सुरुङको ९९ प्रतिशत काम सम्पन्न भएको छ । डी.आइ. पाइप सहितको वैकल्पिक पानी पथान्तरण प्रणालीको काम शतप्रतिशत सकिएको छ ।

उनका अनुसार सुरुङ तथा पानी प्रशोधन केन्द्रबीचको जवान कार्य ९८ प्रतिशत सकिएको छ । पानी प्रशोधन केन्द्र (दैनिक क्षमता १७० करोड लिटर) को काम शतप्रतिशत सकिएको छ ।’

यसैगरी, कोकर ड्याम, हाइड्रोमेकानिकल गेट ६ गोटा जडान कार्य पनि सम्पन्न भएको पनि उनले जानकारी दिए । हेडबर्क्सको काम भने ६५ मात्रै प्रतिशत सकिएको उनले बताए ।

बाँकी भौतिक काम पुस मसान्तसम्म सकिने उनले बताए । त्यसपछि परीक्षणको काम सुरु हुने आयोजना प्रमुख खत्री बताउँछन् ।

पानी परीक्षण सुरु भएपछि परीक्षण सम्पन्न गर्नका लागि अर्को तीन महिना लाग्ने उनले बताए ।

परीक्षण सुरु भएपछि केही कमजोरी छन् कि भनेर हेरिने छ । परीक्षणपछि पानी फालेर सुरुङको अवस्था निरीक्षण गरिनेछ ।

परीक्षणका लागि तीनवटा समिति र कार्ययोजना बनाइरहेको आयोजना प्रमुख खत्रीले जानकारी दिए ।

अहिले लकडाउनको समयमा काम भइरहेको भएपनि कामदार र सामाग्रीको अभाव रहेको उनले बताए । लकडाउनअघि ४५० कामदारले काम गर्दै आएकोमा हाल १६४ जना कामदार रहेको जानकारी दिए ।

कार्ययोजना पेश गर्न निर्देशन

खानेपानी मन्त्रालय र मेलम्ची आयोजना प्रमुखले उपत्यकाबासीले मेलम्चीको पानी कहिलेसम्म खान पाउँछन् भन्ने प्रष्ट जवाफ नदिएपछि विकास तथा प्रविधि समितिले कार्ययोजना माग गर्ने निर्णय गरेको छ ।

टेस्टिङ समेतको सबै प्रक्रिया पूरा गरेर कहिलेसम्म काठमाडौंमा पानी र्झछ भनेर कार्ययोजना माग गर्ने समिति सभापति खड्काको प्रस्तावलाई समितिले पास गरेको छ ।

यसैगरी, पाइप बिच्छ्याउने कार्य र घर-घरमा पानी पुर्याउने विषयमा ध्यान दिन, मेलम्चीका आयोजनास्थल वरपरका स्थानीयको समस्या के हो बुझेर सम्बोधन गर्न पनि खानेपानी मन्त्रालयलाई निर्देशन दिने निर्णय समितिको छ ।

समितिबाट कार्ययोजना आएपछि पुनः यो विषयमा समितिको बैठक राख्ने सभापति खड्काले बताएकी छन् ।

सरकारले यसअघि फागुनमा असारमा सुन्दरीजलमा मेलम्चीको पानी खसाल्ने गरी ‘मेलम्ची स्वेतपत्र’ जारी गरेको थियो ।