चीनले ६४ हेक्टर नेपाली भूमि अतिक्रमण गरेको भन्दै संसदमा संकल्प प्रस्ताव

११ असार, काठमाडौं । छिमेकी मुलुक चीनले नेपालको भूमि अतिक्रमण गरेको भन्दै त्यसलाई फिर्ता ल्याउने पहल गर्न माग गर्दै संघीय संसदको प्रतिनिधि सभामा संकल्प प्रस्ताव पेश भएको छ ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरु देवेन्द्रराज कंडेल, सत्यनारायण शर्मा खनाल र सञ्जयकुमार गौतमले प्रतिनिधि सभामा संकल्प प्रस्ताव पेश गरेका हुन् ।

‘नेपालका विभिन्न जिल्लाहरु दोलखा, हुम्ला, सिन्धुपाल्चोक, संखुवासभा, गोरखा र रसुवाका ६४ हजार हेक्टर भन्दा बढी भूभाग अतिक्रमणमा परेको छ’ संकल्प प्रस्तावमा भनिएको छ ।

अतिक्रमणमा परेको भूभागलाई कुटनीतिक माध्यमबाट फिर्ता ल्याउनका लागि र त्यहाँको स्थिति एवं वास्तविक अतिक्रमणमा परेका भूभाग र गाउँको अवस्थाबारे संसदलाई जानकारी गराउन उनीहरुले माग गरेका छन् ।

नेपालको निशान छापमा अंकित नेपालको भौगोलिक, राजनीतिक नक्सा अनुसार नेपाल र चीनबीच १४१४.८८ किलोमिटर सिमाना रहेको र ९८ वटा सीमा स्तम्भहरु रहेको उल्लेख गर्दै कांग्रेसका सांसदहरुले ९८ वटा सीमा स्तम्भमध्ये केही सीमा स्तम्भ हराएका र केही नेपालभित्र सारिएको दाबी गरेका छन् ।

गोरखाको सीमानामा पर्ने ३५, ३७ र ३८ नम्बर सीमा स्तम्भ र सोलुखुम्बुको नम्पा भञ्ज्याङमा पर्ने ६२ नम्बर सीमा स्तम्भ हराएको संकल्प प्रस्तावमा उल्लेख छ ।

गोरखाको ३५ नम्बरको सीमा स्तम्भलाई चीनले नेपालभित्र सारेकोले उत्तरी गोरखाको रुई गाउँ चीनको अतिक्रमणमा पर्दा ७२ घरधुरी चीनको स्वशासित क्षेत्र तिब्बतमा पर्न गएको र दार्चुलाको जीउजीउ भन्ने स्थानका १८ घरसमेत चिनियाँ अतिक्रमणमा परेको उनीहरुले उल्लेख गरेका छन् ।

लिम्पियाधुरा सहितको नेपालको नयाँ नक्सा जारी भएको र भारतसँगको सीमा विवाद चकिएका बेला चीनसँगको सीमा विवाद रहेको भन्दै संकल्प प्रस्ताव पेश भएको हो ।

संकल्प प्रस्ताव पेश गर्ने सांसदहरुले कंडेलले आफूहरुले चीनले नेपाली भूमि अतिक्रमण गरेको प्रमाण संकलन गरेको बताएका छन् । प्रमाण संकलन भएकै कारण आफुहरु संकल्प प्रस्ताव लिएर गएको उनीहरुको प्रतिक्रिया छ ।

‘चीनले नेपाली भूमि मिचेको प्रमाण संकलन गरेका छौं’

– देवेन्द्रराज कंडेल, सांसद नेपाली कांग्रेस

चीनबाट नेपाली भूभागहरु मिचिएको कुरा मन्त्रालयहरुले पनि निकालिरहेको छ । त्यसको रेकर्डहरु छन् । ठाउँ ठाउँमा खोलाहरुले बहाव परिवर्तन गर्दा खोलालाई नै सीमाना मानेर चाइनिजहरुले अतिक्रमण गरेका छन् । खोला नेपालको भूमि मिच्दै आउने र उनीहरु पनि सीमा सार्दै आउने केही ठाउँमा भएको छ ।

यस्ता प्रमाणहरु हामीले जुटाएका छौं । यत्तिकै भन्ने कुरा त आएन । केही पत्रिका र अनलाइनहरुले पनि लेखेका छन् । सदनमा उठाएपनि संकल्प प्रस्तावका रुपमा प्रश्न उठाउँछु भन्दा भन्दा मिडियामा पनि आउन थाल्यो, त्यहि आधारमा पेश गरेका हौं ।

भारतसँगको सीमा विवाद चर्किएका बेला चीनसँगको किन ?

महाकालीको फर्काउनु नै छ । सुस्ताको पनि कुरा छ । जहाँ जहाँ मिचिएका छन् चाहे भारत होस् चाहे चीन होस् । चीनसँगको कुरा त हाम्रो नक्सामा नै छ । आफ्नै नक्साभित्र भएको चीजलाई त वार्ता गरेर फिर्ता गरे भइहाल्छ यसमा जटिलता त छैन् ।

भारतसँगको कुरा हुँदा चीनको कुरा उठाएको भन्नु भन्दा सरकारले प्रष्ट गरिदिए भइहाल्छ । गलत हो भने गलत भनिदिए भइहाल्छ त । होइन भनिदिए भइहाल्छ त्यसमा त के छ र ! हामीले विभिन्न आधारमा संकल्प प्रस्ताव लगेको हो । कृषि मन्त्रालय लगायतले निकालेको डाटाहरु हामीसँग छ, त्यस आधारमा हामीले भनेको हो ।