१३ असार, काठमाडौं । देशका विभिन्न जिल्लामा सलह कीरा देखिएको सन्दर्भमा कृषि वैज्ञानिकहरूले अध्ययन शुरु थालेका छ्न् ।
सिन्धुली, सर्लाही, बारा, रूपन्देहीमा सलह देखिएका छन्।
प्रदेश नं २ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवका अनुसार प्रादेशिक कृषि निर्देशनालयका निर्देशक रतनकुमार झाको नेतृत्वमा कृषि वैज्ञानिकको टोलीले कीरा प्रवेशका सन्दर्भमा अध्ययन शुरू गरेको छ ।
कृषि वैज्ञानिकहरू सर्लाही जिल्लाको तेलबाली अनुसन्धान केन्द्रमा बसी अध्ययन गरिरहेको जनाइएको छ ।
राज्यमन्त्री यादवले आज बिहान प्रदेशका विभिन्न जिल्लामा बथानमा देखिएको कीरा सलह नै भएको पुष्टि भएकाले यसबारे गहन अध्ययन र निरूपणबारे कृषि वैज्ञानिकहरूले कार्य प्रारम्भ गरेको बताए ।
वैज्ञानिकहरूले कीराको प्रवेश नाका, सङ्ख्या र नियन्त्रणका आधार पहिल्याउनेबारे अनुसन्धानसमेत शुरु गरेको बताइएको छ ।
पूर्व अफ्रिकाबाट शुरु भएको सलहको प्रकोप मध्यपूर्व हुँदै केही साताअघि पाकिस्तान र भारत आइपुगेको थियो । झन्डै ६० वर्षपछि नेपालमा सलह कीरा प्रवेश गरेको हो ।







